२०८१ बैशाख १३ , बिहिवार

उडिरहेको विमानमा यात्रुले जब कुटाकुट गरे…

सुनाखरी न्युज/ काठमाडौं ।
बुद्ध एयरको एटीआर विमान बुधबार दिउँसो साढे ४ बजे विराटनगर विमानस्थलबाट ७० यात्रु बोकेर काठमाडौंका लागि उडेपछि क्लाइम्ब (चढाइ) मा थियो ।

 

विराटनगर विमानस्थलबाट करिब २४ किलोमिटर दूरीमा उडिरहेको जहाजमा सिट नम्बर ९ को ‘ए’ र ‘बी’ मा बसिरहेका दुर्गालाल श्रेष्ठ र विमलबाबु श्रेष्ठ कुटाकुट गर्न थालेका थिए । जहाज ‘क्रुज’ मा नपुगिसकेकाले यात्रु तथा क्याबिन क्रुलाई सिट बेल्ट खोलेर हिँडडुल गर्न चालकदलले अनुमति दिएको थिएन । दुई यात्रुले झगडा गरेको देखेपछि परिचारिकाले चालकदललाई खबर गरिन् ।

बुद्ध एयरको ७१० उडान नम्बरको विमानका क्याप्टेन मणिराज श्रेष्ठले विराटनगर विमानस्थललाई आफ्नो जहाजभित्र भइरहेको घटनाबारे जानकारी दिए । जहाजभित्रको झगडाले अरूलाई असर पर्न सक्ने वा जहाजको भित्री भागमा क्षति हुन सक्ने जनाउँदै चालकदलले विराटनगर विमानस्थलमै फर्किन एटीसीलाई जानकारी गराए । त्यसपछि पाइलटले उदयपुरतर्फको चुरे पहाडमाथि नगई जहाजलाई विराटनगरतर्फ फर्काउँदै थिए । फेरि क्याबिनबाट परिचारिकाले इन्टरकममा कल गरिन् र भनिन्, ‘सर दुवै जना अहिले मिले । झगडा बन्द भयो ।’

 

उनले बोर्डमा बसेका यात्रुको समन्वयले दुई जनाको झगडा मिलेको बताएपछि चालकदलले जहाजलाई काठमाडौंतर्फ अघि बढाउने निधो गरे । बुद्धको अल्फा जुलियट एक्सरे दर्ता नम्बर रहेको उक्त जहाज काठमाडौं विमानस्थलको एरिया कन्ट्रोल टावरको सम्पर्कमा जोडिइनसकेकाले पाइलटले विराटनगर टावरलाई काठमाडौं टावरमा सम्पर्क गरेर विमानस्थलमा प्रहरी तैनाथ गराइदिन भने । ३५ मिनेटपछि जहाज काठमाडौं अवतरण भयो । जहाजको ढोकामै पुगेको विमानस्थल प्रहरीले दुवै यात्रुलाई नियन्त्रणमा लिई बुधबार साँझ गौशाला प्रहरीको हिरासत कक्षमा पठाइदियो ।

 

न्यौपाने विनय नामको अकाउन्टबाट टिकटक पोस्ट गर्ने यात्रुले जहाजमा झगडा सुरु भएपछि परिचारिकासमक्ष गई पहिलो पटक जानकारी गराएको अनि यात्रुले नै मिलेर उनीहरूलाई सम्झाइबुझाइ गरेको भनेका छन् । टिकटकमा उनले झगडा गर्नेमध्येका एक यात्रुलाई आफ्नो सिटमा राखेर विवाद सामान्य पारेको बताएका छन् । न्यौपानेका अनुसार गोरखा घर भएका ती दुवै आफन्त हुन् ।

 

उनीहरूबीच लेनदेनको कारोबारमा झगडा भएको थियो । बिहीबार गौशाला प्रहरीले दुईमध्ये विमलबाबु श्रेष्ठलाई ललितपुर प्रहरी परिसरमा पठाइदिएको छ भने दुर्गालाल श्रेष्ठलाई तारिखमा छाडेको गौशालाका डीएसपी सञ्जीवबाबु खड्काले बताए ।

 

ललितपुर प्रहरी प्रमुख सिद्धिविक्रम शाहका अनुसार गौशालाबाट झिकाइएका विमलबाबुलाई १० लाख रुपैयाँ चेक बाउन्सको उजुरीमा थुनामा राखिएको छ । उता जहाजमा शान्ति सुरक्षा खलल पारेको अभियोगमा प्रहरीले उनीहरूलाई सार्वजनिक मुद्दा लगाउन सक्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।