२०८१ बैशाख १३ , बिहिवार

बञ्चरेडाँडावासीविरूद्ध जारी भएको वारेन्ट तत्काल रद्द गरियोस् : सांसद पाण्डे

 

सुनाखरी न्युज / काठमाडौं –  सांसद राजेन्द्रप्रसाद पाण्डेले बञ्चरेडाँडाका युवाहरूविरुद्ध जारी भएको वारेन्ट तत्काल रद्द गर्न माग गरेका छन्।प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पाण्डेले जनताले फोहोरमा बस्न सकेनौं भनेर गुनासो गर्दा सरकारले उल्टै प्रहरी परिचालन गरी युवाहरुलाई यातना दिएको बताए।

 

‘दर्जनौं युवाहरुलाई वारेन्ट जारी गरियो। अहिले पनि जारी नै छ,’ पाण्डेले भने, ‘उनीहरुविरूद्ध जारी गरिएको वारेन्ट तत्काल रद्द गरियोस्।’ पाण्डेले बञ्चरेडाँडा अवलोकनमा जान संसदीय समिति बनाउन पनि सभामुखलाई आग्रह गरे। उनले उक्त क्षेत्र हवाई रूट भएकाले दुर्घटनाको पनि अत्यन्त जोखिम रहने बताए। ‘अव्यवस्थित तरिकाले फोहोर राख्दा चिल र गिद्धहरू घुमिरहन्छन्, यसले दुर्घटनाको जोखिम बढाउँछ,’ उनले भने।

 

पाण्डेले बञ्चरेडाँडाबासीका मागहरू संसदमा पढेर सुनाएका थिए।कोल्पु खोलामा फोहोरको लिचड बगाउन बन्द गर्नुपर्ने, प्रभावित क्षेत्रका जनतलाई खानेपानी विद्युत सडक सिञ्चाई नदी तटबन्ध मठमन्दिर जस्ता विषयहरुमा सहयोग गर्नुपर्ने लगायतका माग उनले सदनमा प्रस्तुत गरे।