२०८१ बैशाख १३ , बिहिवार

रवि लामिछाने राहदानी प्रकरणमा कारण देखाऊ आदेश

सुनाखरी न्युज/ काठमाडौं ।
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दा नचलाउनुको कारण मागेको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले बुधबार महान्यायाधिवक्ता दिनमणि पोखरेल र महान्यायाधिवक्ताको कार्यालयलाई दोहोरो राहदानी लिएका लामिछानेविरुद्ध मुद्दा नचलाउनुको कारण मागेको हो ।

महान्यायाधिवक्ता पोखरेलको उक्त निर्णयविरुद्ध युवराज पौडेलले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश फुयालको इजलासले कारण देखाउ आदेश जारी गरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

 

अमेरिकी नागरिकता र पासपोर्ट बोकेर नेपाल आएको बेला लामिछानेले पुरानो नागरिकता पेस गरेर नेपालको राहदानी लिएको भन्दै परेको उजुरीमा प्रहरी, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं, उच्च सरकारी वकिलको कार्यालय र महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेका थिए । अन्तिम निर्णय चैत ६ मा महान्यायाधिवक्ता पोखरेलले गरेका थिए ।

 

 

लामिछानेले २०५० फागुन १० मा वंशजका आधारमा नागरिकता लिएको र सोही नागरिकताको आधारमा राहदानी लिई अमेरिका गएका थिए । अमेरिकाको स्थायी बसोबास अनुमति पाएका उनले अमेरिकी कानुनबमोजिम शपथ लिई २०७० फागुन ९ मा अमेरिकी नागरिकता पाएका थिए ।

अमेरिकी नागरिकका हैसियतमा नेपाल आएको बखत लामिछानेले पुरानै नागरिकता प्रयोग गरी २०७२ जेठ १३ ९सन् २०१५ मे २७०मा नेपालको पासपोर्ट लिएका थिए । उनले २०७५ सालमा अमेरिकाको नागिरकता र राहदानी परित्याग गरेका थिए ।