२०८१ बैशाख १४ , शुक्रवार

आगोका फूल

बिश्व पौडेल- चितवन काँग्रेसले सबभन्दा पहिले (२०१५ सालमा) संसद सदस्य हुन विश्वबन्धु थापालाई उठाएको थियो। चितवन कांग्रेसका संस्थापक सभापति बखानसिंह गुरुङ आँफै एक २००७ सालमा सहिद हुनुभएका आदरणीय धर्मध्वज गुरुङका पिता हुनुहुन्थ्यो। पुर्वी चितवनका उदयनाथ अधिकारी पनि संस्थापक जिल्ला समिति सदस्य हुनुहुन्थ्यो।इलाहाबादमा सुर्य वहादुर थापाहरु संगै पढेर चितवन फर्कनुभएका शेरपानीका जमिन्दार परिवारका किशोरचन्द्र ढुंगाना २०१४ सालमा जिल्ला सदस्य हुनुभयो। खोरिया फाँडेर, लामखुट्टेसँग लड्दैपड्दै आफ्ना सन्तानको भविष्य बनाउन चितवन झरेका धेरै मान्छेलाई मर्दापर्दा सहयोग गरेर यि जस्ता धेरै व्यक्तिहरुले चितवन काँग्रेसको संगठन विस्तार गरेका थिए।

२०१५ सालमा पुर्वी चितवनका विश्वबन्धु थापा काँग्रेसका उम्मेदवार बन्नुभयो। ग्राउण्डमा प्रभाव कम भएपनी पढाई राम्रो भएको र केन्द्रमा प्रभाव भएकोले थापाले टिकट पाउनु भएको थियो। चित्त नबुझेर त्यसको विरुद्ध अस्ती भर्खर वित्नु भएकी स्व. मैयादेवी श्रेष्ठ, हरिकुमार श्रेष्ठ आदि वागी उम्मेदवार उठ्नुभयो। । बागी नउठुन भनेर जिल्लामा संभवत: सर्वाधिक लोकप्रिय रहेका बखानसिंह गुरुङलाई महासभामा (अहिलेको राष्ट्रिय सभामा) लैजाने सहमति भयो। थापाले ४४% मत सहित चुनाव जित्नुभयो।

महेन्द्रले वहुदल हरण गरेपछी थापा पंचायतमा गए, तर धेरै काँग्रेसीहरुलाई उनले माया गरिरहे भनिन्थ्यो। थापासँगै शुरुमा पंचायतलाई सहयोग गरेका किशोर चन्द्र ढुंगानाले आफु जिल्ला पंचायतको सभापति हुँदा २०२० सालमा पंचायत व्यवस्थाको विरुद्ध माग पारीत गराउनु भयो। त्यसपछी गिरफ्तार भएका ढुंगाना पछीसम्म पुर्व चितवनका काँग्रेसका लोकप्रिय खम्बा भैरहनु भयो। बखानसिंह गुरुङको अर्का छोरा लालध्वज गुरुङ पंचायत विरुद्ध आन्दोलनमा मारिनु भयो, बखानसिंह आँफै भने पछी २०३८ सालमा पंचायत प्रवेश गरेर चुनाव जित्नुभयो। मैयादेवी केही पाउँदा होस वा नपाउँदा सधैं काँग्रेसलाई माया गरेर बस्नुभयो। काँग्रेसमा एउटा लामो संस्कार के छ भने जानेलाई गाली नगर्ने। महन्त ठाकुर सबैले मन पराउँथे, जानुभयो, कसैले गाली गरेन। फर्केर आउनेलाई पनि स्वागत गर्ने नै चलन छ।एक कालखण्डमा संस्थापनाकालका धेरै प्रभावशालीले पार्टी छोडे, बखान सिंहले, विश्वबन्धुले, किशोरले। सबैजसो पछी फर्कनुभयो र पार्टीलाई बलियो बनाउनुभयो।

काँग्रेस चितवनको घना जंगलको रुख मात्र हैन, नारायणी जस्तै नदी पनि हो। यसमा खोलाहरु आएर मिसिन्छन, कुलाहरुबाट पानी निस्कन्छन, र धेरै फेरी फर्केर आउँछन। काँग्रेससँग गरेको विद्रोह झिल्कोबाट डढेलो हुने खासै हुँदैन। यि आगोका फूल हुन, बढ्दैनन। बिश्व पौडेलको फेसबुकबाट साभार ।