२०८१ बैशाख ८ , शनिवार

स्टार्टअप नीति पारित गर्न उद्योग मन्त्रीलाई एफएनसीसीआईको सुझाव

सुनाखरी न्युज/ काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्ष शेखर गोल्छा नेतृत्वको प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई भेटेर स्टार्टअप नीति पारित गर्न सुझाव दिएको छ ।

‘महासंघको पहलमा निर्माण भएको नीति सबै निकायबाट सुझाव समेटेर तयारी अवस्थामा छ’ गोल्छाले भने । महासंघ स्टार्टअप तथा इनोभेसन समितिका सभापति रन्जित आचार्यले हालै जारी भएको स्टार्टअप कर्जा कार्यविधिको प्रभावकारी कार्यान्वयनका लगि पनि नीति आवश्यक रहेको बताए । अर्थतन्त्र संकटोन्मुख हुँदा उद्योग क्षेत्रमा असर परेकाले समाधानका लागि मन्त्रालयले ठोस पहल गर्नुपर्ने गोल्छाको भनाइ छ । बजारमा उत्पादनको माग नहुँदा उद्यम व्यवसाय आधा भन्दा कम क्षमतामा चलिरहेको उनले बताए ।

 

‘अवस्था सहज बनाउन सरकारले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने वातावरण बनाउनैपर्छ’ अध्यक्ष गोल्छाले भने ‘वितरणमुखी हुने कुरामा हामी गयौं भने संकटमा पर्छौं ।’ बजारमा उधारोको समस्या विकराल बन्दै गएको अवस्था भएको भन्दै गोल्छाले उधारो उठाउने सम्बन्धी कानुन यथाशीघ्र ल्याउनु पर्नेमा जोड दिए । वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उपलब्ध भएसम्मका सबै उपाय र उपकरण प्रयोग गरेर निजी क्षेत्रमा विश्वासको वातावरण बनाउने काममा सरकार लाग्नु पर्ने सुझाव दिए ।मन्त्री रिजालले महासंघकातर्फबाट राखिएका सुझावलाई कार्यान्वयन गर्न महासंघसँग नियमित सम्वाद र नजिकमा रहेर कार्य गर्ने आश्वासन दिए ।