२०८१ बैशाख १२ , बुधवार

अर्थमन्त्री महतले भेटे सेयर बजारका लगानीकर्ता

सुनाखरी न्युज/ काठमाडौँ । आफू अर्थमन्त्रीमा आएपछि सेयर बजार घटेको भन्दै डा. प्रकाशरण महतले लगानीकर्ता सँग भेट गरेका छन्।अर्थमन्त्री महत स्वयंले सेयर बजारका प्रतिनिधिलाई डाकेर सुझाव लिएका हुन्।

नेपाल उद्योग वाणिज्य महासंघ, पुँजीबजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा गएको टोलीसँग अर्थमन्त्री महतले सोमबार बिहान आधा घण्टा परामर्श गरेका हुन्। कुराकानीमा अध्यक्ष पौडेलसँगै ब्रोकर संघ, मर्चेन्ट बैंकर तथा अरु लगानीकर्ता पनि सँगै थिए। पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलको आगमनले सेयर बजारमा देखिएको उत्साह महत भित्रिँदा भने सेलाएको छ। अर्थमन्त्री प्रति आशावादी देखिएका सेयर लगानीकर्ताको मनोबल एक्कासी खस्किएको थियो।

 

सेयर बजारका प्रतिनिधिहरुले महतलाई विद्यमान समस्या अवगत गराउँदै सक्दो छिटो समाधानमा जोड दिन सुझाएका हुन्। उनीहरुले सेयर बजार सुधारका लागि आवश्यक अल्पकालीन र दीर्घकालीन सुझाव दिएका हुन्। अर्थ मन्त्रालय र राष्ट्र बैंक दुवै निकायबाट लगानीकर्ताको मनोबल उकास्‍न आवश्यक रहेको औंल्याएका छन्। मार्जिन ऋणमा १२ करोडको सीमा हटाउने र १५० प्रतिशत रहेको जोखिम भार १०० प्रतिशतमा झार्न आग्रह गरेका छन्। चुक्ता सेयर पूँजीको ४० प्रतिशत मात्र सेयर धितोको कर्जा दिन पाउने व्यवस्थालाई हटाएर कुल कर्जा लगानीको १० प्रतिशत धितो कर्जामा दिन पाउने व्यवस्था गर्नुपर्ने माग उनीहरुको छ।

ब्रोकरहरु मार्फत खरिद र मार्जिन लेन्डिङको लागि कर्जा उपलब्ध गराउन बैक तथा वित्तीय संस्थाले स्रोत उपलब्ध गाराउन आग्रह गरे। प्रतिनिधिहरुले पुँजीगत लाभकरलाई पनि समायोजन गर्नुपर्ने तर्क अघि सारेका छन्। उनीहरुका अनुसार अल्पकालीन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई २ प्रतिशत पुँजीगत लाभकर लगाउने व्यवस्था हुनु आवश्यक छ। नेप्सेमा सरकारी स्वामित्व घटाउन पनि आग्रह गरेका छन्। त्यस्तै स्वदेशी संस्थागत र वैदेशिक रणनीतिक साझेदार ल्याउने र सेवालाई अझ प्रतिस्पर्धी बनाउन निजी क्षेत्रबाट अर्को नयाँ स्टक एक्सचेन्जलाई अनुमति प्रदान गर्नुपर्ने लगानीकर्ताहरुको आग्रह छ।

 

यसबाहेक उनीहरुले एक्सचेन्ज र धितोपत्र बोर्डका अधिकारहरुलाई थप प्रष्टीकरण गरिनुपर्ने माग गरेका छन्। विद्यमान नीति तथा ऐन बारे समीक्षा गरी आवश्यक परिमार्जन गर्न सुझाएका छन्। सेयर बजारमा डेरिभेटिभ लगायत वित्तीय औजारहरु पनि विकास गर्न राय दिएका हुन्। टोलीले सेयर बजार विकासका लागि यसअघि गरिएका अध्ययनहरुको निष्कर्षलाई कार्यान्वयन गर्न सुझाएको छ।