२०८० चैत्र १६ , शुक्रवार

कांग्रेसले गर्‍यो उपनिर्वाचन हुने क्षेत्रका नेताको कारबाही फुकुवा

सुनाखरी न्युज/ काठमाडौँ । नेपाली कांग्रेसले उपनिर्वाचन हुने तीन क्षेत्रका नेताहरूको मात्र कारबाही फुकुवा गरेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तनहुँ, चितवन र बाराका नेताहरूलाई पुरानै क्रियाशील सदस्यताको निरन्तरता हुने गरी कारबाही फुकुवा गर्ने निर्णय भएको सहमहामन्त्री बद्रिप्रसाद पाण्डेले जानकारी दिए।

 

‘पार्टीको अनुशासनको कारबाहीमा पर्नुभएका २०७९ को निर्वाचनभन्दा पहिला स्वतन्त्र उम्मेदवार भएका, पार्टीको अनुशासन उल्लंघन गरेका नेताहरूको हकमा बारा, तनहुँ र चितवन ३ जिल्लाको हकमा अहिलेलाई पुरानै क्रियाशील सदस्यताको निरन्तरता हुनेगरी कारबाही फुकुवा गर्ने निर्णय भएको छ। २०७९ को निर्वाचन बेलाको हकमा उपनिर्वाचनमा उहाँहरूले गर्ने कामहरूलाई हेरेर आगामी दिनमा निर्णय गर्ने र अनुशासन समितिलाई सक्रिय पार्ने भन्ने निर्णय भएको छ,’ उनले भने। कारबाही फुकुवा हुनेहरूमा जगन्नाथ पौडेल, केन्द्रीय सदस्य दिनेश कोइराला, गोविन्दराज जोशी, रहेका छन्। पौडेलले गत वैशाखमा भएको चुनावमा भरतपुर महानगरपालिकाको मेयर रेनु दाहालविरूद्ध बागी उम्मेदवारी दिएका थिए।

 

कोइरालाले गत मंसिर ४ मा पुष्पकमल दाहाल प्रचण्डविरुद्ध बागी उम्मेदवारी दिएका थिए। उनलाई नेकपा एमालेले सघाएको थियो। साथै कोइरालालाई ०७० सालको संविधानसभा निर्वाचनमा चितवन–४ बाट तत्कालीन सभापति सुशील कोइरालाविरूद्ध बागी उम्मेदवारी दिएपछि कारबाही गरिएको थियो। जोशिमाथि ०७५ पुसमा रामचन्द्र पौडेलविरूद्ध उम्मेदवारी दिएपछि कारबाही भएको थियो। उनले ०७४ सालको निर्वाचनमा बागी उम्मेदवारी दिएका थिए।