२०८० चैत्र १५ , बिहिवार

मेलबर्नमा पहिलो पटक बिधिपूर्बक चैते दशै

सुनाखरी न्युज/ काठमाडौँ । डिग्गर्स रेस्ट, मेलबर्न: आफ्नो कला, संस्कृति, रीति, रिवाजलाई आफ्नो पुस्तामा कायम राख्दै भावी पुस्तामा समेत यस्लाई निरन्तरता दिनका खातिर अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोबास गर्ने नेपालीहरुको साझा घर सामुदायिक केन्द्रको रुपमा पशुपतिनाथ मन्दिर र बौद्ध स्तुपा सहितको वहुसाँस्कृतिक केन्द्र बनाउने अभिप्रायले कृयाशिल अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टरले पन्डितत्रय शंकर प्रशाद गौतम, नारायण (मिलन) ज्ञवाली र नारायण दाहालको सहभागितामा मेलबर्नमा पहिलो पटक बिधिपूर्बक चैते दशैं मनाएको छ ।

 

कार्यक्रममा बिधिपूर्बक पूजा, भगवान रामको बिषयमा प्रबचन, भजन कीर्तन, नाचगान गर्नुका साथै नयाँ आजीवन सदस्यको रुपमा आएका पंकज शाहलाई पंडितत्रयसंग टीका, फूल र प्रसाद ग्रहणपस्चात लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टरका सल्लाहकार रामकुमार श्रेष्ठद्धारा खादा लगाइएपछि सेन्टरका अध्यक्ष गान्धी भट्टराईद्धारा प्रमाणपत्र प्रदान गरिएको थियो ।

 

जन संपर्क समिति अस्ट्रेलियाका अध्यक्ष बिनित शर्मा, मेल्टन नेप्लिज कम्युनिटिका अध्यक्ष दिनेश सुबेदी, दिदीबहिनी समाज भिक्टोरियाका प्रभा श्रेष्ठ र शोभा पौडेल आदिको उपस्थिति रहेको उक्त कार्यक्रममा सेन्टरका सचिब डा तिलक पोखरेल, सह-कोषाध्यक्ष अनन्त पौडेल आदिको उपस्थिति थियो ।

 

अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टरले आफ्नो मूल उद्धेस्य प्राप्तीको लागि १०० डनकान्स लेन, डिग्गर्स रेस्टमा ४ कोठा सहितको घर भएको करीब १५ एकर (६.०७ हेक्टर) जग्गा किनिसकेको छ । हाल उक्त भवनलाई अस्ट्रेलियन सरकारद्धारा प्राप्त आर्थिक सहयोगमा मर्मत सम्भार गरी मूल उद्धेस्य प्राप्त नहुन्जेलसम्मको लागि मन्दिरको रुपमा प्रयोग गर्न मिल्ने गरी काम भैराखेको छ ।