२०८१ बैशाख १३ , बिहिवार

नवनियुक्त अर्थमन्त्रीको सुरुआतमै गभर्नरसँग भेट,लगानीकर्ताको मनोबल बढाउने प्रयास

सुनाखरी न्युज/ काठमाडौँ । पदबहालीलगत्तै नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महत र गभर्नर महाप्रसाद अधिकारीबीच भेटवार्ता भएको छ। पदबहाली र कर्मचारीलाई निर्देशनसँगै अर्थ मन्त्रालयमा अर्थमन्त्री महत र गभर्नर अधिकारीबीच भेटवार्ता भएको हो।

अहिले अर्थतन्त्रमा देखिएका समस्या सुधारका लागि मिलेर अगाडि बढ्न अर्थमन्त्रीले आग्रह गर्नुभएको छ। पछिल्लो समय अर्थमन्त्री र गभर्नरबीच सम्बन्ध बिग्रिँदा आर्थिक नीति र मौद्रिक नीतिबीच तालमेल हुन नसकेको आवाज उठ्दै आएको छ। तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर अधिकारीबीचको तिक्तपूर्ण सम्बन्धका कारण चालु पुँजी कर्जा, ब्याजदरलगायतका विषयले समस्या थप बल्झियो। त्यही कारण नवनियुक्त अर्थमन्त्री महतले गभर्नर अधिकारीसँग मिलेर अगाडि बढ्न सन्देश दिन खोजेको हुन सक्छ।

 

त्यसअघि पदबहाली गर्दै नवनियुक्त अर्थमन्त्री महतले अर्थतन्त्रलाई गति दिने गरी प्रभावकारी काम गर्ने प्रतिक्रिया दिएका थिए। पत्रकारसँग प्रतिक्रिया दिँदै उनले खर्च कटौती गर्ने दिशामा काम गर्ने बताए। महतले संकटमा रहेको अर्थतन्त्रमा सुधार गर्न आफू जस्तोसुकै कठोर निर्णय गर्न पछि नपर्ने पनि बताए। पुँजीगत खर्च बढ्न नसकेको र बजारमा माग घटेकोप्रति चिन्ता व्यक्त गर्दै उनले बजारमा सोचेभन्दा बढी महँगी हुँदा जनता मारमा परेको बताए।