२०८१ बैशाख १४ , शुक्रवार

राजनीतिक सिन्डीकेटतन्त्रको विरुद्धमा सबै एक हुनुको विकल्प छैनः रमेश खरेल

सुनाखरी न्युज/ काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्नुभएका रमेश खरेलले राजनीतिक सिन्डीकेटतन्त्रको बिरुद्धमा सबै एक हुनुको विकल्प नरहेको बताउनुभएको छ ।

 

शनिवार राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारको भागबण्डा र लुछाचुँडीको अन्त्य गर्न आफूहरु एक ठाउँमा उभिनुपरेको बताउनुभएको हो । उहाँले देशमा सुशासन नभएसम्म देशले विकासमा उल्लेखनीय प्रगति हासिल नगर्ने बताउनु भयो । उहाँले आफूहरुमा अल्मलिने छुट नरहेको जिकिर गर्नुभयो । उहाँले सरकारको भागबण्डा र लुछाचुँडीलाई रोक्न नसके कसैको पनि भविष्य सुनिश्चित नरहेको बताउनु भयो ।

 

उहाँले भन्नुभयो, ‘देशमा सुशासन नभएसम्म हामी अलमलिरहन्छौँ । तर अब हामीसँग अल्मलिने छुट छैन । हामी अल्मलिनु हुँदैन । हामीले देशलाई एउटा गतिमा अघि बढाउनैपर्छ । देशको समृद्धिको लागि हामीले अब जाग्नुपर्छ । हामीले एक ठाउँमा उभिएर एक भएर काम गर्नुपर्छ । हामीले यो माफियातन्त्रलाई रोक्नैपर्छ । हामीले सरकारको भागबण्डा र लुछाचुँडीलाई रोक्न सकेनौँ भने भविष्य सुनिश्चत कसैको छैन ।’नेता खरेलले नेपाल आमालाई जोगाउन चाहने सबै एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो ।