२०८१ बैशाख १२ , बुधवार

पांग्रा सापटी मागेर २६ घन्टापछि काठमाडौं फर्कियो निगमको वाइडबडी

सुनाखरी न्युज/ काठमाडौ ।
नेपाल वायुसेवा निगमको  पांग्रा पन्चर भएर बिहीबार दिउँसोदेखि दिल्लीमा ग्राउडेड भएको वाइडबडी विमान २६ घन्टापछि शुक्रबार दिउँसो पौने ५ बजे काठमाडौं आइपुगेको छ ।

दिल्लीस्थित कतार एयरवेजले आफ्ना विमानका लागि राखेका जगेडामध्येबाट निगमलाई एक दिनका लागि दुइटा पांग्रा लोन (सापटी) मा दिएपछि निगमको नाईन एन–अल्फा लिमा जुलु रजिष्ट्रेशन नम्बर भएको वाइडबडी काठमाडौं फर्किएको निगमका सहप्रवक्ता गणेश घिमिरेले बताए ।

 

वाइडबडीको बायाँतर्फको मेन ल्यान्डिङ गियरका चारवटा पांग्राको संयुक्त व्हिल–एसेम्ब्लीमा पन्चर भएका दुइटा पांग्रा कतार एयरवेजसँग दैनिक भाडा तिर्ने सर्तमा सापटी मागिएको हो । मागेका पांग्रा शुक्रबारै काठमाडौंमा फेरेर शनिबार निगमको दिल्ली उडानमा कतार एयरवेजलाई फर्काइने निगमका एक प्राविधिकले बताए ।

आरए २१८ डी उडान नम्बरमा काठमाडौं फर्किएको निगमको वाइडबडीमा बिहीबार २ सय ५१ यात्रु काठमाडौं आउँदै थिए । राति अबेरसम्म पांग्रा फेर्न नसकिएपछि ती यात्रुलाई निगमकै खर्चमा दिल्लीमा होटलमा राखिएको थियो ।

‘होटलमा बस्नेलाई होटलमा, नजिकै घर भएकालाई ट्याक्सी खर्च दिएर पठाइन्छ । कति होटलमा बसेका थिए । कति घर गएर आज फर्के एकिन संख्या दिल्ली स्टेशनले पठाइसकेको छैन । पांग्राको दैनिक भाडादरको हिसाब पनि निगमको प्रधान कार्यालयमा आइसकेको छैन,’ सहप्रवक्ता घिमिरेले भने, ‘शुक्रबार जम्मा २ सय ३० जना यात्रु बोकेर जहाज फर्कियो ।’

एउटा पांग्रा पन्चर हुँदा यसअघि कार्तिकमा निगमको न्यारोबडी पश्चिम अफ्रिकाको मालीमा ९ दिनसम्म ग्राउडेड भएको थियो भने यसअघि पांग्रा अभावले दिल्लीका दुइटा उडान प्रभावित भएका थिए ।