२०८० चैत्र १६ , शुक्रवार

मध्य दिनमा किन हुन्छन् मान्छे उदास ?

सुनाखरी न्युज/ काठमाडौँ । हरेक मानिस २४ घण्टामा फरक फरक समयमा उर्जाशील बन्दछ । कसैलाई बिहानको समयमा काम गर्न मन पर्छ भने कोही राति अबेर काम गर्दछन् । तर मध्यान्ह यस्तो समय हो जसमा धेरैजसो मानिसहरु आफूलाई थाकेको तथा उदास महसुस गर्छन् ।

 

वैज्ञानिकहरुका अनुसार दिनको कुनै पनि एक समयमा मानिसको शरीरमा उर्जामा गिरावट आउनुले विभिन्न संकेत गरेको हुन्छ । यो बाइपोलार डिसअर्डरको संकेत पनि हुनसक्छ वा शरीरमा ग्लुकोजको कमिका कारणले पनि त्यस्तो हुनसक्छ । अष्ट्रेलियाको मेलवर्नस्थित स्विनबर्न युनिभर्सिटी अफ टेक्नोलोजीका शोधकर्ताहरुले शरीरमा उर्जाको तह घट्नु र मस्तिष्कबीच सिधा सम्बन्ध पत्ता लगाएका छन् । टाइम अफ डे डिफरेन्सेस इन न्यूरल फंक्सनिङ शीर्षकको उक्त शोध जर्नल अफ न्युरोसाइन्समा प्रकाशित भएको छ । सन् २०१७ को सेप्टेम्बरमा प्रकाशित उक्त शोध अनुसार मस्तिष्कको न्यूरल मार्ग सदैव प्रशंशाको खोजीमा हुन्छ । कसैले हाम्रो कुनै कामको तारिफ गरेसँगै न्यूरल पाथवे सक्रिय हुन्छ र मस्तिष्कलाई बुस्ट गर्दछ । त्यसमा सेरोटोनिन हर्मोन बन्दछ, जसलाई ह्याप्पी हर्मोन पनि भनिन्छ ।

 

यसले विभिन्न खालका विद्युतीय तथा रासायनिक संकेत दिन्छ जसले मस्तिष्कलाई लामो समयसम्मका लागि सक्रिय राख्दछ । वैज्ञानिकहरुले यसलाई रिवार्ड सर्किट भन्दछन् । प्रायः मध्यान्हको समयमा यो सर्किट कमजोर हुन थाल्छ । बिहानैबाट काम गरिरहेका मानिसहरु थाक्न थाल्दछन् र दिउँसोमा खाना खाएसँगै सुस्ताउने गर्छन् । कहिलेकाहीँ मानिसहरु दिउँसो अबेरसम्म भोकै रहन्छन् र एक अर्काको प्रशंशा गरिरहेका हुँदैनन् । धेरैपटक मिटिङहरुमा हाकिम भड्किएका वा थाकेका देखिन्छन् । र, समग्रमा यसरी दिनभरको कामको बोझ मध्यान्हतिरै एकत्रित भएको हुन्छ । सर्केडियन रिदम पनि दिउँसोमा उदासी हुनुको एक कारण हो । यो एक प्रकारको जैविक घडी हो जसले हाम्रो पूरै २४ घण्टामा निगरानी राख्दछ । यसमा हाम्रो जागा हुने तथा सुत्देखि खानपिन लगायतका गतिविधि सामेल हुन्छन् । यदि हामीले केही दिनसम्म रातमा पूरै निद्रा नलिएमा सर्केडियन रिदम बिग्रिन्छ र त्यसको असर मध्यान्हमा झनै धेरै देखिन्छ ।

 

तर दिउँसोको समयमा यदि हामीलाई कुनै प्रशंशा वा पुरस्कार प्राप्त भयो भने चाहीँ हाम्रो उदासीपन केही कम हुने अध्ययनको निष्कर्ष छ । त्यस्तो रिवार्ड कसैबाट प्राप्त भएको तारिफ हुनसक्छ वा कुनै स्वादिलो खाना पनि हुनसक्छ । २४ घण्टाभित्रै पनि मानिसको मुडमा कैयन् पटक उतारचढाव आएको हुन्छ । यस्तो ढाँचा लामो समय वा पूरै हप्तादिन भर पनि देखिन सक्दछ । नर्वेजियन युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीले यस विषयमा धेरै अध्ययन गरेको छ । विश्वविद्यालयको मनोविज्ञान विभागले करिब साढे २ करोड ट्वीटर मेसेजको प्याटर्नको अध्ययन गरेको थियो जो साधारण ट्वीटर प्रयोगकर्ता थिए । त्यसक्रममा मानिसहरुले कुनै पनि दिनको अलग अलग समयमा फरक फरक खालका व्यवहार गर्ने गरेको देखिएको छ । कुनै समयमा मानिसलाई बढि रिस उठ्न भने कुनै समयमा मानिस बढि समझदार बन्दछ ।

 

शोधकर्ताहरुका अनुसार बेलुकी ४ देखि रातको १२ बजेसम्म मानिसहरु निकै उत्तम मुडमा रहेका हुन्छन् । उनीहरु एक अर्काको प्रशंशा गर्छन् । तर बिहान अबेर भने मानिसहरु मुड बिग्रिएको हुन्छ । बिहान अबेर हुँदै गएसँगै मानिसलाई काम सिध्याउने चटारो हुने कारणले गर्दा हडबडीमा हुने र सोही कारणले मानिसको मूड बिग्रिने भएको हुनसक्छ । शोधकर्ताका अनुसार शुक्रबार भने बिहानैदेखि औसत मानिसहरु धेरै प्रसन्न देखिन्छन् र अरुलाई सहयोग गर्न तयार हुन्छन् ।– एजेन्सी