२०८१ बैशाख १३ , बिहिवार

नवनियुक्त मन्त्रीको दिउँसो ३ बजे शपथको तयारी

सुनाखरी न्युज/ काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । मन्त्रिपरिषद्को विस्तार गर्न लागेका प्रधानमन्त्री दाहाल आज बिहान राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाका अनुसार नवनियुक्त मन्त्रीको पद तथा गोपनियताको शपथका लागि अपराह्न ३ बजेका लागि तयारी गरिएको छ । गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्रीले आज मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । सत्ता साझेदार १० दलले मन्त्री बन्नेहरूको नाम प्रधानमन्त्रीलाई दिइसकेका छन् । बिहीबार नै मन्त्रिपरिषद् विस्तार गर्ने बताइए पनि अन्तिममा छलफल नसकिएको भन्दै आजका लागि सारिएको थियो ।

 

प्रधानमन्त्री पुष्पकमल दाहालले तीन महिनामै सातौं पटक मन्त्रिपरिषद्‌मा हेरफेर गर्दै छन् । पुस ११ मा शपथ लिएसँगै उनले माघ ३, १४ र २३, फागुन १४ र १६ मा पनि मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए। सहयोगीहरूमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी र जनमोर्चाबाहेक ९ दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो । कांग्रेस ८, एस र जसपा २–२, लोसपा, नागरिक उन्मुक्ति, नेसपा र आजपा १–१ मन्त्रालय लिएर सरकारमा जाने भएका छन्। यसअघि नै सरकारमा रहेका माओवादीले ५ र जनमतले १ मन्त्रालय पाएका छन्।