२०८० चैत्र १५ , बिहिवार

थ्री नेसन्सकप : नेपाल र लाओस भिड्दै, दुवै उत्साहित

सुनाखरी न्युज/ काठमाडौँ । प्रधानमन्त्री थ्री नेसन्सकपमा शुक्रबार नेपाल र लाओस भिड्दै छन् । दशरथ रंगशालामा हुने खेल औपचारिक मान्यताप्राप्त अन्तर्राष्ट्रिय खेल भने हुनेछैन ।

 

तर‚ दुवै टिम उपाधि जित्नका लागि उत्तिकै उत्साहित छन् । फाइनलको अघिल्ला दिन प्रि-म्याच कन्फ्रेन्समा दुवै टिमका प्रशिक्षकले आफ्नो टिमले राम्रो प्रदर्शन गर्ने दाबी गरे । तीन टिम सम्मिलित प्रतियोगिताको लिग चरणको समाप्तीमा नेपालले अपराजित रहँदै फाइनल यात्रा तय गरेको थियो । नेपालले लाओसलाई २–० ले हराएको थियो भने भुटानसँग १–१ को बराबरी खेलेको थियो । लाओसले भने भुटानलाई २-१ ले पराजित गरेको थियो । ‘फिफा विन्डो’ को समय बाहिर हुन लागेको खेल हुनाले फाइनल अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रतिस्पर्धा नभएको हो ।

 

नेपाली टिमका प्रशिक्षक भिन्सेन्सो अल्बर्टोले भनेका छन्, ‘फाइनलको आफ्नै महत्त्व छ र त्यसको नतिजाको अर्थ हुनेछ । हामी शारीरिक र मानसिक रूपमा यस खेलका लागि तयार छौं । मलाई विश्वास छ, फाइनल निकै रोमाञ्चक हुनेछ । आखिलमा फाइनल भनेको फाइनल नै हो । हामी सबै यसको प्रतीक्षामा छौं ।’उनको समकक्षी माइकल वाइसको पनि उस्तै प्रतिक्रिया रहेको छ । उनी भन्छन्, ‘यो फाइनल हो, त्यसैले यसको अलग महत्त्व हुनेछ । म धेरै कुरा गर्दै ठूला दाबी गर्ने प्रशिक्षक होइन । मैदानमा जे हुन्छ, त्यसको मात्र अर्थ हुन्छ । त्यसैले हामी मैदानमा आफ्नो खेल देखाउन चाहन्छौं ।’

 

दोहोरो पहेँलो कार्डका कारण नेपालका लागि पुजन उपरकोटीले फाइनल खेल्न पाउनेछैनन् । यस्तै चोटका कारण अञ्जन विष्टले खेल्न सम्भावना पनि कम रहेको छ । यसअघि लाओसको तीन पल्ट सामना गरेकोमा नेपाल दुईमा विजयी रहेको छ भने एक खेल बराबरीमा टुंगेको छ ।