२०८१ बैशाख १३ , बिहिवार

आजदेखि एसइइ परीक्षा, करिब पाँच लाख परीक्षार्थी सहभागी हुँदै

सुनाखरी न्युज/ काठमाडौँ । आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइइ) सुरु हुँदैछ । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले परीक्षा आज बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने जनाएको छ ।

 

एसइई परीक्षामा सहभागिता जनाउनका लागि यसवर्षका लागि परीक्षामा सहभागि हुन २०७८ मा कक्षा नौमा रजिस्ट्रेशन भर्ने विद्यार्थी पाँच लाख १६ हजार ५९१ जना रहे पनि कक्षा १० सम्म आइपुग्दा भने परीक्षाका लागि आवदेन दिनेमा कूल चार लाख ८४ हजार २२७ जनाले फारम भरेका थिए । कक्षा नौबाट १० मा आउँदा ३२ हजार ३६४ विद्यार्थी घटेका छन् ।

 

परीक्षामा सबैभन्दा धेरै बागमती प्रदेशमा एक लाख छ हजार नौ सय ५९ विद्यार्थी र सबैभन्दा कम कर्णाली प्रदेशमा ४१ हजार तीन सय २९ परीक्षार्थी सहभागी हुँदैछन् । प्राविधिक धारतर्फ करिब १५ हजार विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । परीक्षामा संस्कृत विषय पढाइ हुने ६५ विद्यालयका दुई हजार नौ सय ८२ विद्यार्थी र ५० जना दृष्टिविहीन परीक्षामा सहभागी हुँदैछन् ।

 

यस वर्ष सात हजार दुई सय सामुदायिक र चार हजार पाँच सय ६४ संस्थागत गरी ११ हजार आठ सय २९ विद्यालय एसइईमा सहभागी हुँदैछन् । परीक्षाका लागि देशका ७७ जिल्लामा दुई हजार ३६ परीक्षा केन्द्र र जापानमा एक गरी कूल दुई हजार ३७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।