२०८२ चैत्र १ , आइतवार

मन्त्रिपरिषद बिस्तारको तयारी, कुन दललाई कति मन्त्रालय ?

सुनाखरी न्युज/ काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद बिस्तारको तयारी गरेका छन्। उनले सत्ता गठबन्धन दलसँग सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम मागिसकेका छन्।

 

सत्ता गठबन्धनको बुधबार साँझ बालुवाटारमा बसेको बैठकले मन्त्रालय भागबन्डा करिब टुंग्याएको थियो। आज दलहरूले मन्त्रीका नाम प्रधानमन्त्रीलाई बुझाएमा आजै मन्त्रिपरिषद बिस्तार र नयाँ मन्त्रीहरूको शपथ तथा पदभारग्रहणसमेत हुनेछ।

 

नेपाली कांग्रेसले ८ मन्त्रालय पाउने भएको छ। नेकपा माओवादी केन्द्रले ५, जसपाले २ र एकीकृत समाजवादीले २ मन्त्रालय पाउने सहमति सत्ता गठबन्धनभित्र बनेको छ।

नेकपा एकीकृत समाजवादीले मन्त्रीहरूको नामसमेत टुंग्याइसकेको छ। एकीकृत समाजवादीबाट उपाध्यक्ष बेदुराम भूसाल र उपमहासचिव प्रकाश ज्वाला मन्त्री बन्ने भएका छन्।

यस्तै जसपाले अहिले १ मन्त्रालय लिएकोमा अब एक राज्यमन्त्री पाउने भएको छ। लोसपाले १, नागरिक उन्मुक्ति पार्टीले १, नेपाल समाजवादी पार्टीले १ र आम जनता पार्टीले १ मन्त्रालय पाउने भएका छन्।

कुन दलले कुन मन्त्रालय पाउने आज बिहान बालुवाटारमा छलफल गरेपछि निर्णय गर्ने तयारीमा दलहरू छन्।

सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा भने सरकारमा सहभागी नहुने भएको छ।