२०८० चैत्र १५ , बिहिवार

भारतले २२ गुणाले बढायो रुसी तेलको आयात

सुनाखरी न्युज/ काठमाडौँ ।अमेरिकालगायत पश्चिमा मुलुकले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएपछि पनि भारतले रुसबाट ठूलो परिमाणमा सहुलियत मूल्यमा कच्चा तेल खरिद गरिरहेको छ।

 

रुसका उपप्रधानमन्त्री अलेक्ज्यान्डर नोभाकका अनुसार भारतले गत वर्षको तुलनामा यो वर्ष २२ गुणा बढी रुसी तेल खरिद गरेको छ। तर, भारतले कुल कति तेल किनेको उनले खुलाएनन्। उपप्रधानमन्त्री नोभाकले मंगलबार युक्रेनसँगको युद्धपछि युरोपेली मुलुकले रुसको सट्टा अन्य देशबाट तेल किन्न थालेको बताएका छन्। ‘तर, यस अवधिमा भारतमा रुसी तेलको निर्यात गत वर्षको तुलनामा २२ गुणाले बढेको छ’, उनले भने। युक्रेनमाथि आक्रमण गरेपछि युरोपेली संघले रुसबाट तेल खरिदमा प्रतिबन्ध लगाएर आर्थिक प्रतिबन्ध लगाएको थियो। त्यसपछि रुसले आफ्नो तेल निर्यात भारत र चीनमा सार्यो। डिसेम्बर २०२२ मा युरोपेली संघले रुसी कच्चा तेलमा प्राइस क्याप लगाएको थियो। यो प्राइस क्यापलाई जी–७ समूहले पनि समर्थन गरेको थियो। यति हुँदाहुँदै पनि भारत र चीनले रुसबाट ठूलो परिमाणमा सस्तो तेल खरिद गरिरहेका छन्।

 

रुसी समाचार एजेन्सीहरुसँग कुरा गर्दै उपप्रधानमन्त्री नोभाकले भने, ‘हामीले ऊर्जा व्यापारका अधिकांश क्षेत्र मित्र राष्ट्रहरुलाई हस्तान्तरण गरेका छौँ। उदाहरणका लागि भारतको कुरा गर्ने हो भने गत वर्षको तुलनामा हामीले २२ गुणा बढी तेल निर्यात गरेका छौँ।’ अप्रिलदेखि डिसेम्बर २०२२ सम्म भारतले विश्वभरका तेल उत्पादक देशहरुबाट कुल १.२७ बिलियन ब्यारेल तेल किनेको थियो। यसमध्ये करिब १९ प्रतिशत तेल भारतले रुसबाट मात्र किनेको थियो। भारतलाई थोरै तेल आपूर्ति गर्ने रुसले विगत ९ महिनामा साउदी अरेबिया र इराकजस्ता शीर्ष तेल निर्यात गर्ने देशहरुलाई पछाडि पारेको छ। रिपोर्टका अनुसार सेप्टेम्बरदेखि डिसेम्बरसम्म भारतले रुसबाट सबैभन्दा बढी तेल किनेको थियो।

 

ओपेक समूहको प्रमुख तेल उत्पादक राष्ट्र रुसले पश्चिमी मुलुकले लगाएको प्रतिबन्धका कारण यही महिनादेखि कच्चा तेलको उत्पादन दैनिक ५ लाख ब्यारेलले घटाउने घोषणा गरेको छ। उपप्रधानमन्त्री नोभाकले गत हप्ता रुसले कच्चा तेलको उत्पादनमा प्रतिदिन ५ प्रतिशतले कटौती गर्ने घोषणा गरेका थिए। यो कटौती जुनसम्म जारी रहनेछ। रुसले पश्चिमी मुलुकले लगाएको आर्थिक प्रतिबन्धका कारण यस्तो निर्णय गरेको नोभाकले बताए। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार रुसको तेल बिक्रीबाट हुने आम्दानी गत वर्षको तुलनामा फेब्रुअरीमा झन्डै आधाले घटेको छ। –एजेन्सी