२०८१ बैशाख ११ , मंगलबार

विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिन निर्वाचन ऐन ल्याइने

सुनाखरी न्युज/ काठमाडौँ । सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार प्रदान गर्नका लागि निर्वाचन ऐन ल्याउने भएको छ ।

 

गठबन्धनले तय गरेको सरकारको नीति तथा कार्यक्रममा विदेशमा रहेका नेपालीलाई मतदान अधिकारको सुनिश्चित गर्ने उल्लेख गरिएको छ । गठबन्धनले तयार गरेको नीति तथा कार्यक्रममा विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिने विषयमा भनिएको छ, ‘विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न आवश्यक व्यवस्थासहितको निर्वाचन ऐन तर्जुमा गर्ने ।’

 

सत्तारुढ गठबन्धनको बुधबारको बैठकले नीति तथा कार्यक्रमलाई टुंगो लगाएर सार्वजनिक गर्ने तयारी गरेको छ । नीति तथा कार्यक्रम र मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल गर्न गठबन्धनका दलहरू जुटेका छन् । सरकार गठनको लामो समय भइसक्दा पनि नीति तथा कार्यक्रम सार्वजनिक नगरेको तथा मन्त्रिपरिषद् विस्तारसम्म गर्न नसकेको भन्दै सरकारको आलोचना भइरहेका बेला गठबन्धनले त्यस विषयमा छलफललाई तीव्रता दिएको हो ।