२०८० चैत्र १६ , शुक्रवार

यो सरकार ५ वर्षसम्मै टिक्छ : प्रधानमन्त्री

सुनाखरी न्युज/ काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार पाँच वर्ष नै टिक्ने बताएका छन् । बुधबार न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

 

उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सरकार फेरबदल भइरहँदा स्थानीय तहलाई पनि काम गर्न कठिनाइ हुने गरेको कुराको जवाफ दिँदै सरकार पाँच वर्ष नै टिक्नेमा ढुक्क हुन आग्रह गरेका हुन् ।प्रधानमन्त्री दाहालले भने, ‘कामनपा प्रमुख बालेन्द्र साहज्युले सरकार फेरबदल भइरहँदा कतिपय कठिनाइ आएको कुरा गर्नुभयो तर स्थानीय तहको निर्वाचनपछि संघ र प्रदेशको निर्वाचन भइसकेर यहाँसम्म आइसक्दा म नै सरकारमा छु, तपाईं ढुक्क हुनुहोस्, यो सरकार ५ वर्ष नै टिक्छ भन्ने मलाई विश्वास छ ।’

 

प्रधानमन्त्री दाहालले सरकार अब बिस्तारै लयमा आइरहेको भन्दै अब देश विकासका काममा लाग्ने बताउनु भयो ।

 

सुरु भयो न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन

न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन सुरु भएको छ । बुधबारबाट काठमाडौंमा देशभरका स्थानीय तहका उपमेयर, उपाध्यक्षहरुको उपस्थितिमा न्यायिक समितिको राष्ट्रिय सम्मेलन सुरु भएको हो । राष्ट्रिय सम्मेलन प्रधानमन्त्री पुष्पकमल दाहालले डिजटल एपको उद्घाटन गरी न्यायिक समितिको शुभारम्भ गरेका थिए ।

 

डिजिटल एपमार्फत न्याय सेवा, अनलाइनमार्फत सेवा दिने उद्देश्यले एप ल्याएको जनाइएको छ। स्थानीय तहको दर्तादेखि कार्यान्वयनको तहसम्म पुर्‍याउने, न्याय सम्पादनको कार्य निर्देशन स्पष्ट हुनुपर्ने, कार्यसम्पादनमा एक रुपमा आउने, चुस्तता, न्याय सेवामा निष्पक्क्षता हुने विश्वास समेत गरिएको छ ।