२०८१ बैशाख १४ , शुक्रवार

पात्रमार्फत चिनिएका विपिन कार्की

सुनाखरी न्युज/ काठमाडौँ । नेपाली चलचित्रमा नामभन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेतामध्येका एक हुन्, विपिन कार्की। ‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’ लगायत चलचित्रमा निर्वाह गरेका चरित्रले पहिचान स्थापित भए तापनि अभिनेता कार्कीलाई ‘जात्रा’ पश्चात् दर्शकले चिनेका हुन्।

 

‘जात्रै जात्रा’, ‘प्रसाद’, ‘सेल्फी किङ’ मार्फत आफूसँगै चरित्रमा भिन्नता ल्याउन सफल अभिनेता कार्की रंगमञ्च हुँदै चलचित्रमा प्रवेश गरेका हुन्। त्यसैले अन्य अभिनेताभन्दा चरित्र निर्माणमा गम्भीर फरक देखिन्छन्। ‘जात्रा’ शृंखलामार्फत अभिनेत्री वर्षा राउतका श्रीमान्को भूमिका निर्वाह गरेका अभिनेता कार्कीले ‘के घर के डेरा’ मा पिता बन्ने प्रस्ताव सहजै स्विकारेका थिए। चरित्र निर्माण गरेता पनि निर्देशक दीपेन्द्रकुमार खनालको आग्रहमा उनले त्यो भूमिका गरेनन्। ‘दर्शकले विश्वास गर्नुहुन्न कि? साजसज्जा गर्नेले राम्रो गर्न सक्नुभएन भने? जस्ता प्रश्न उठेपछि मैले अर्कै भूमिका निर्वाह गरेको थिए,’ अभिनेता कार्कीले भने। यद्यपि उक्त चरित्रलाई ‘फूलबारी’ मा प्रस्तुत गरे।

 

अवकाश प्राप्त शिक्षकको भूमिकासँगै अभिनेता कार्की उमेरमा आफूभन्दा अग्रज कलाकार दयाहाङ राईको काकाको रूपमा प्रस्तुत भए। चलचित्र बन्ने समयमा पात्रलाई निर्वाह गर्ने भूमिकाबारे विश्वास नभए पनि प्रदर्शनपछि स्वाभाविक देखियो। ‘चरित्र बाँच्ने कोसिस गर्छु। त्यहाँ म पात्र हुँ। त्यसैले मैले सहजै भूमिका स्विकार्ने गर्छु,’ अभिनेता कार्कीले भने, ‘प्राविधिक कठिनाइले गर्दा आफूले चाहेको चरित्र अझै पर्दामा ल्याउन सकेको छैन। दर्शक पनि बिस्तारै कलाकारभन्दा पात्रसँग जोडिन थाल्नुभएको छ।’

 

उनले प्रदर्शनका क्रममा रहेको चलचित्र ‘प्रसाद २’ मा गाउँले बाबुरामको भूमिका निर्वाह गरेका छन्। ‘प्रसाद’ कै दोस्रो शृंखला भए पनि यसको कथावस्तु फरक रहेको निर्माण पक्षले जानकारी दिएको छ। रंग पत्रकार सुशील पौडेलद्वारा लिखित ‘प्रसाद २’ मा जातीय विभेद र वर्गीय संघर्षको कथा छ। सुदर्शन थापाले निर्देशन गरेका चलचित्रमा केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, प्रकाश घिमिरे, कमलमणि नेपाल र बालकलाकार उपेश ढकालको अभिनय छ। रासस