२०८१ बैशाख ३० , आइतवार

पूँजी वृद्धिको लागि अटेर गर्ने बीमा कम्पनीलाई कारवाहीको तयारी

सुनाखरी न्युज/ काठमाडौँ । नेपाल बीमा प्राधिकरणको निर्देशनअनुसार चैत मसान्तसम्म जीवन बीमा कम्पनीले पाँच अर्ब र निर्जीवन बीमा कम्पनीले साढे दुई अर्ब चुक्तापूँजी पुर्याउनुपर्नेछ। तर चैत मसान्त नजिकिदै गर्दा अहिलेसम्म केही कम्पनीले मात्र तोकिएको चुक्तापूँजी पुर्याउन सफल भएका छन्।

 

बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्क अनुसार चैत ११ गतेसम्म जीवन बीमातर्फ नेपाल लाइफ र निर्जीवनतर्फ आइजीआई प्रूडेन्सियल इन्स्योरेन्सले मात्र तोकिएको चुक्तापूँजी पुर्याएका छन्। केही जीवन तथा नीर्जीवन कम्पनीले भने तोकिएको चुक्तापूँजी पुर्याउन पहिलो विकल्पको रुपमा मर्जर रोजेका छन्। जसमा जीवन बीमातर्फ सूर्य ज्योति, सानिमा रिलायन्स, प्राइमगुराँस र युनियन, प्रभु र महालक्ष्मी रहेका छन् भने निर्जीवनतर्फ सिद्धार्थ र प्रिमियम, हिमालयन र एभरेष्ट, सानिमा र जीआइसी, सगरमाथा र लुम्बिनी, अजोड र युनाइटेड इन्स्योरेन्स रहेका छन्।

 

मर्जरको विकल्प रोजेका यी कम्पनीको चुक्तापूँजी बीमा प्राधिकरणले तोकेअनुसार नपुग्ने न्सिचित छ । मर्जर तथा बोनस सेयरबाट पनि तोकिएको चुक्तापूँजी पुर्याउन नसकेका कम्पनीलाई भने बीमा प्राधिकरणले अन्तिम विकल्पको रुपमा हकप्रद दिने सोच बनाएको छ। सबै प्रयास गर्दागर्दै पनि तोकिएको चुक्तापूँजी नपुगेको अवस्थामा मात्रै अवस्था हेरेर अधिकतम ३० प्रतिशतसम्म हकप्रद ल्याउनलाई अनुमति दिने सोच बनाएको बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले बिजपाटीलाई बताए। उनी भन्छन्, ‘अन्तिम विकल्पको रुपमा हकप्रद विकल्प दिने सोच बनाएका हौँ, तर अहिलेसम्म यसबारे आधिकारिक निर्णय गरिसकेका छैनौँ। सबै विकल्प प्रयास गर्दा पनि नभएमा तोकिएको सीमाभित्र रहेर काम गर्नेगरी हकप्रदको विकल्प दिने सोचेको हो तर पहिलो विकल्प हकप्रद हुन सक्दैन।’

 

प्राधिकरणका अध्यक्ष सिलवालका अनुसार कम्पनीले बोनस, मर्जर तथा प्राप्ति, आन्तरिक पूँजी वृद्धि, जस्ता विकल्प रोज्दा पनि तोकिएको चुक्तापूँजी नपुगेमा एउटा सीमा तोकेर हकप्रद ल्याउन दिने हो। उनका अनुसार प्राधिकरणको यो नीतिअनुसार मर्जर तथा प्राप्ति, आन्तरिक चुक्तापूँजी वृद्धिको प्रयास नगर्ने कम्पनीलाई भने अर्को निर्णय गरेर कडा भन्दा कडा कारबाही हुनेछ। तोकिएको समयमा तोकिएको चुक्तापूँजी नपुर्याउनेलाई के गर्ने भन्ने कुनै निर्णय नभएकाले अहिल्यै कारबाहीको मोडालिटी भन्न गाह्रो हुने तर निर्देशन नमान्नेलाई कुनै न कुनै रुपमा कारबाही भने हुनेछ। पूँजीवृद्धि नीति आएपछि ३९ वटा जीवन तथा निर्जीवन कम्पनी घटेर मात्र ३४ मा आएका छन्। २० वटा निर्जीवन बीमा कम्पनी १८ वटामा कायम भएका छन् भने १९ वटा जीवन बीमा कम्पनी १६ वटामा कायम भइसकेका छन्।

 

प्राधिकरणका प्रवक्ता तथा कार्यकारी निर्देशक राजुरमण पौडेलले मर्जरपछि पनि पूँजी नपुगेकालाई मात्रै हकप्रद निष्काशन गर्न दिने बताउँछन्। ‘मर्जरमा गएर पनि पुँजी नपुगेकालाई मात्रै हकप्रद निष्काशनको अनुमति दिने हो, अरुले आश नगरे पनि हुन्छ।’ प्रवक्ता पौडेलले पुजीँ नपुर्याउनेलाई कडा कारबाही गर्ने र त्यसपछि पनि प्राधिकरणले दिने विभिन्न सेवासुविधामा बन्चित गर्ने बताए।