२०८१ जेठ ६ , आइतवार

६ महिनादेखि स्वास्थ्यकर्मीले पाएनन् तलब

सुनाखरी न्युज/ काठमाडौँ । ६ महिनादेखि तलबभत्ता नपाएको भन्दै धनगढी उपमहानगरपालिका अन्तर्गत कार्यरत स्थायी स्वास्थ्यकर्मीहरु काम ठप्प पारेर धर्नामा बसेका छन् । उनीहरुले गत असोज महिनादेखिको तलब भत्ता नपाएको गुनासो गर्दै दबाबमूलक कार्यक्रम अघि बढाएका हुन् ।

 

धनगढी उपमहानगरपालिकामा कार्यरत वडा तहदेखि उपमहानगरको कार्यालयमा कार्यरत ५४ जना स्वास्थ्यकर्मीले तलबभत्ता नपाएको बताएका छन् । बारम्बार अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि धर्नामा बस्नु परेको स्वास्थ्यकर्मी गीता भट्टले बताइन् ।

 

माग सुनुवाइ नभएसम्म उपमहानगरपालिकाको प्रशासन शाखामा हाजिरी गरेर नगरपाकिलाको चौरमा कालो पट्टिसहित दिने, स्वास्थ्य संस्थाबाट प्रदान गरिने स्वास्थ्य सेवा र विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक लगायतका अन्य सेवाहरुमा आन्दोलनरत स्वास्थ्यकर्मीहरु सहभागी नहुने, दैनिक रुपमा सञ्चालन गरिएका कार्यक्रमहरुको प्रतिवेदन नगर्ने लगायतका दबाबमूलक कार्यक्रम गर्ने बताएका छन् ।