२०८१ बैशाख १४ , शुक्रवार

साउथवेस्टन स्कुलका प्रिन्सिपल अधिकारीलाई अमेरिकाज बेस्ट प्रिन्सिपल अवार्ड प्राप्त

सुनाखरी न्युज/ काठमाडौँ । काठमाण्डौँको बसुन्धारामा अवस्थित साउथवेस्टन स्कुललाई अर्को अन्तराष्ट्रिय अवार्ड प्राप्त भएको छ । स्कुलका प्रिन्सिपल रमेश अधिकारीले ‘अमेरिकाज बेस्ट प्रिन्सिपल अवार्ड’ प्राप्त गर्नुभएको हो । अमेरिकाको न्यु जर्सीबाट यो अवार्ड प्रदान गरिएको हो ।

 

समाजमा विशिष्ट योगदान गर्ने विश्वभरका व्यक्तिलाई न्यु जर्सीबाट अवार्ड प्रदान गर्ने गरिन्छ । विश्वभरका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा भर्चुअल माध्यमबाट यो अवार्ड प्रदान गरिएको हो । २०२२ मेमा मनोनयन दर्ता गरी विभिन्न चरणहरू पार गर्दै प्रिन्सिपल अधिकारीले उक्त अवार्ड हात पार्नुभएको हो । सो अवार्डको लागि डकुमेन्ट प्रिजेन्टेसन, भर्चुअल प्रिजेन्टेसन, अन्तर्वार्ता, शैक्षिक सन्दर्शन तथा योजना, शैक्षिक योगदान, सामाजिक योगदान, अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा विद्यार्थीहरूको सहभागिता तथा प्राप्त नतिजा, विद्यालयको भौतिक पूर्वाधार, शैक्षिक तथा अतिरिक्त क्रियाकलाप आदि मूल्याङकनलाई मुख्य आधार बनाइएको थियो ।

 

स्कुलले विगत चार बर्षको अवधिमा पाँच वटा अन्तराष्ट्रिय अवार्ड हात पारिसकेको छ । यस अघि २०२२ मा स्कुलले एकै पटक दुई अवार्ड प्राप्त गरेको थियो । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ मुलपानीमा जन्मिनुभएका प्रिन्सिपल अधिकारीले ‘यसियाज बेस्ट प्रिन्सिपल अवार्ड’ र ‘यसियाज भिजिनरी प्रिन्सिपल अवार्ड’ प्राप्त गर्नुभएको थियो । यस अन्तराष्ट्रिय अवार्डका सन्दर्भमा ‘टाइमस् अफ लन्डन’ ले प्राथमिकताका साथ समाचार प्रकाशित गरेको थियो ।