२०८१ बैशाख ७ , शुक्रवार

नेपाल प्रहरीको आईजीपीमा वसन्त कुँवर नियुक्त

सुनाखरी न्युज/ काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक(आईजीपी)मा वसन्त कुँवर नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई महानिरीक्षकमा नियुक्त गरेको हो ।

 

कुँवर केही दिनअघि मात्र डीआईजीबाट एआईजीमा बढुवा भएका थिए । कुँवर यसअघि मधेश प्रहरी प्रमुख थिए । सरकारले चैत ६ गते कुँवरसँगै डीआईजीहरू टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआईजीमा बढुवा गरेको थियो ।एआईजीहरू विश्वराज पोखरेल, मुकुन्द आचार्य, अरुण बीसी, रवीन्द्रबहादुर धानुक र पूजा सिंहले अनिवार्य अवकाश पाएपछि उनीहरूको ठाउँमा बढुवा ५ डीआईजीको बढुवा गरिएको हो । थापा २०५२ र अरु ४ जना २०५१ सालमा निरीक्षकबाट प्रहरी सेवा प्रवेश गरेका हुन् ।

 

आगामी चैत ११ देखि हालका महानिरीक्षक धिरजप्रताप सिंहसहित २०४९ मा सेवा प्रवेश गरेका सबै अधिकारी ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जान लागेका छन् ।