२०८१ जेठ ६ , आइतवार

हर्निया किन हुन्छ, कसरी गर्ने उपचार ?

सुनाखरी न्युज/ काठमाडौं । कुनै पनि कारणले मांसपेशी कमजोर भयो भने हर्निया हुन्छ। पेटभित्रको अंग फुलेर बाहिर गाँठोजस्तो देखिएमा त्यसलाई हर्निया भएको भनिन्छ।

 

मांसपेशी कमजोर हुँदै गएर प्वाल परेपछि हर्निया हुन्छ। त्यो प्वालबाट पेटभित्रको बोसो आन्द्रा बाहिर सुन्निएर आउँछ, जुन हेर्दा गाँठो जस्तो देखिन्छ। धेरैजसो हर्निया नाइटोको वरिपरि हुन्छ भने पहिला अपरेशन गरेको ठाउँमा समेत हुन सक्छ। छालामूनि सानो प्वालजस्तो हुनु हर्निया हो। यस्तो अवस्थामा आन्द्रा र बोसो बाहिर निस्किने हुन्छ। तर सुत्यो भने भित्र जाने हुन्छ। कहिलेकाहीँ प्वाल सानो भएको अवस्थामा बाहिर निस्किएको आन्द्रा भित्र जान सक्दैन, जसले गर्दा आन्द्रा कुहिने खतरासमेत हुन्छ। यसको उपचार औषधी खाएर हुँदैन। अपरेशन गरेर मात्रै ठीक हुन्छ। आन्द्रा कुहिएको छ भने पेट चिरेर आन्द्रा काटेर जोड्नु पर्नेसमेत हुनसक्छ।

 

चिरेर र दूरबिन प्रविधि दुबैबाट यसको उपचार गर्न सकिन्छ। चिरेरभन्दा दूरबिनको माध्यमबाट उपचार गर्दा बिरामीलाई चाँडो निको हुन्छ। दूरबिनको माध्यमबाट उपचार गर्दा शरीरको अर्को भागमा हर्निया भएको छ भनेसमेत थाहा पाउन सकिन्छ। जसले गर्दा एकैचोटी दुबै उपचार हुनसक्छ। चिरेर अपरेशन गर्दा घाउ अलि ठूलो हुने भएकाले दुखाई लामो समयसम्म हुन्छ। जसले गर्दा बिरामी सामान्य अवस्थामा फर्किन समय लाग्छ। तर दूरबिनको माध्यमबाट अपरेशन गर्दा घाउ सानो हुने भएकाले चाँडो सामान्य अवस्थामा फर्किन सक्छ। हर्नियाको उपचार गरेको व्यक्तिले गह्रुंगो सामान उचाल्न भने हुँदैन।