२०८१ बैशाख ११ , मंगलबार

कुर्सीमा बसेको प्रधानमन्त्री डराउनुपर्ने बेला भएको छ : महामन्त्री थापा

सुनाखरी न्युज/ काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री नडराएसम्म जनता डरबाट मुक्त हुन नसक्ने बताएका छन् । बिहीवार सामुदायिक रेडियो प्रशारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्री डराउनुपर्ने बेला आएको बताएका छन् ।

 

उनले प्रधानमन्त्रीले नागरिक तर्साउने कुरामा नलागी नागरिक र देश विकासका लागि कसरी अघि बढ्ने भन्नेतिर सोच्नुपर्ने बताए ।प्रधानमन्त्रीले एक्लै बस्दा डराउनुपर्ने स्थिति सिर्जना हुनुले जनतामा नैराश्य बढ्ने थापाको भनाइ । ‘म साँच्चिकै डराएको छु, मैले प्रधानमन्त्रीलाई पटक पटक भनेको छु, नागरिकलाई नतर्साउनुस् । तर प्रधानमन्त्री एक्लै बस्दा डराउनुपर्ने बेला भएको छ । एक्लै बिहान–बेलुका बस्दै गर्दा डराउनुपर्ने बेला भएको छ,’ उनले भने, ‘दिनमा कम्तिमा आधा घण्टा समय निकाल्नुहोस्, भेटघाट बन्द गर्नुहोस् र एक पटक सोच्नुहोस् । मसँग भएको एकएक क्षणको समयको कसरी प्रयोग गर्ने ? डराउनुस् । कुर्सीमा बसेको प्रधानमन्त्री डराउनुपर्ने बेला भएको छ । प्रधानमन्त्री डराउनुपर्छ । प्रधानमन्त्री डरायो भने बल्ल नागरिक पनि डरबाट मुक्त हुने अवस्था हुन्छ ।’

 

उनले केवल यति उति भोट छ भनेर ढुक्क बस्ने अवस्था नरहेको पनि बताए । भने, ‘प्रधानमन्त्रीले दायाँ हेरे पनि भोट, बायाँ हेरे पनि भोट, मसँग १७२ छ, १७३ छ ढुक्क छ भन्दै गयो भने टाउको टाउको मात्रै बाँकी रहन्छ, हामीलाई सुन्ने मान्छे बाँकी नरहन सक्छ । मैले यत्ति धेरै तन्नेरीहरु आत्तिएको कहिल्यै देखेको थिइनँ । यतिधेरै मानिस निराश भएको देखेको थिइनँ ।’महामन्त्री थापाले सामुदायिक रेडियोको उन्नयनका लागि आफूले सबै किसिमले सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । भ्रामक समाचारको प्रवाह रोक्न र समुदायलाई गलत सूचनाबाट जोगाउन सामुदायिक रेडियोको भुमिका महत्वपूर्ण हुने उनको भनाइ थियो ।