२०८० चैत्र १६ , शुक्रवार

चाँदी आयातमा भुक्तानी सीमा बढ्यो

सुनाखरी न्युज/ काठमाडौं । देशभित्रै खपत गर्ने प्रयोजनका लागि आयात हुने चाँदीको सीमा बढेको छ । अब व्यवसायीले प्रतिपटक ६० हजार अमेरिकी डलर बराबरको चाँदी आयात गर्न पाउने भएका छन् ।

 

राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत निर्देशन परिमार्जन गर्दै चाँदी आयातको सीमा बढाएको हो । यसअघि प्रतिपटक ३५ हजार अमेरिकी डलर वा सो बराबरको परिवर्त्य विदेशी मुद्रा बराबरको चाँदी आयात गर्न पाउने सीमा थियो । तर, यसरी चाँदी आयात गर्दा राष्ट्र बैंकले तोकिदिएको मापदण्ड भने पूरा गर्नुपर्नेछ । जसमा चाँदी आयात गर्दा प्रचलित व्यवस्था बमोजिम अन्य कागजातका अतिरिक्त अनिवार्य रुपमा ‘माष्टर एयरवेज बिल’ समेत संलग्न गर्नुपर्नेछ ।

 

यस्तै, निर्यात प्रयोजनका लागि बैंकहरूबाट चाँदी खरिद गर्दा मासिक एक किलोको सीमा नलाग्ने भएको छ। यससम्बन्धी विवरण सम्बन्धित बैंक तथा वित्तीय संस्थाले संलग्न अनुसूचीको ढाँचामा मासिकरुपमा महिना समाप्त भएको ७ दिनभित्र राष्ट्र बैंकको विदेशी व्यवस्थापन विभागमा पेश गर्नु पर्ने व्यवस्था छ ।