२०८१ जेठ ६ , आइतवार

‘नाई नभन्नु ल’का लक्की पात्र अनुभव रेग्मी

सुनाखरी न्युज/ काठमाडौं । निर्देशक विकासराज आचार्यले ‘नाई नभन्नु ल ६’मा पनि अनुभव रेग्मीलाई छुटाएनन् । अनुभव ठूला भएकाले उनलाई न त सानोको भूमिका न त नायकको भूमिका, दुबै दिन सक्ने अवस्थामा विकास थिएनन् ।

 

 

यसैले, यसपटक उनले बाल–कलाकारको रुपमा नयाँ अनुहार भित्राएका छन् । फिल्ममा नायकको रुपमा नयाँ अनुहार आर्शिवाद क्षेत्रीले काम गरेका छन् । तर, पनि विकासले अनुभवलाई यसपटक पनि छाडेनन् । फिल्ममा अनुभवको केमियो भूमिका छ । फिल्मको केही दृश्यको छायांकन विकासले पशुपति क्षेत्रमा गरिरहेका छन् । जहाँ, अनुभवको जोडीको रुपमा योगिशा खत्रीले अभिनय गरिरहेकी छिन् । अनुभवले ‘नाई नभन्नु ल २’देखि लगातार यसको सिरिजमा काम गरिरहेका छन् ।

 

 

फिल्मलाई हिट बनाउनमा उनले पनि उल्लेख्य भूमिका खेलेका छन् भने फिल्मले उनलाई पनि परिचय दिएको छ । सामिप्यराज तिमिल्सिना र विकासले मिलेर लेखेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । फिल्मको एउटा गीत र टिजर सार्वजनिक भैसकेको छ । फिल्मका लक्की पात्र अनुभवलाई यसपटक पनि पर्दामा दर्शकले मिस नगरुन् भन्ने विकासको सोच देखिन्छ ।