२०८१ बैशाख ८ , शनिवार

सानिमा र रिलायन्स लाइफ बीच एकिकृत कारोबार शुरु

सुनाखरी न्युज/ काठमाडौं । साविकको सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सले आज चैत ९ गतेदेखि एकिकृत कारोबार शुरु गरेका छन् । दुई कम्पनीबीच मर्जर सम्बन्धी सम्पुर्ण प्रकृया सम्पन्न भएपश्चात सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुरु भएको हो ।

 

सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सलाई नेपाल बीमा प्राधिकरणले फागुन १८ गते मर्जर सम्बन्धी अन्तिम स्वीकृती प्रदान गरेको थियो । यस्तै फागुन २९ गते कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर काठमाडौंबाट गाभ्ने गाभिने कम्पनीको मर्जर हुने अन्तिम दिनसम्म कायम रहने सम्पूर्ण सम्पत्ति र दायित्वहरु नयाँ बन्ने कम्पनी सानिमा रिलायन्स लाइफले सकार्ने गरी स्वीकृति पाएको थियो । मर्जर पश्चात सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट रजिष्टर्ड तथा प्रधान कार्यालय काठमाडौं महानगरपालिका वडा नं. १० नयाँ बानेश्वरमा रहने छ ।

 

हाल रिलायन्स लाइफको चुक्ता पुँजी २ अर्ब १० करोड रूपैयाँ र सानिमा लाइफको चुक्ता पुँजी २ अर्ब ८ करोड ४० लाख रूपैयाँ रहेको छ । दुई कम्पनीबीच एक बराबर एकको अनुपातमा मर्जर पश्चात नयाँ कम्पनीको चुक्ता पूँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ पुगेको छ । यस्तै नयाँ कम्पनीको जगेडा कोषमा ७७ अर्ब ५४ करोड,जीवन बीमा कोषमा ८ अर्ब ३४ करोड र शेयरधनी कोषमा ४ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । कम्पनीको खुद मुनाफा २८ करोड ३० लाख रुपैयाँ रहेको छ भने १३ अर्ब ५० करोड रुपैयाँ लगानी योग्य रकम रहेको छ ।