२०८१ बैशाख १३ , बिहिवार

अमेरिकी डलरबाहेक विदेशी मुद्रा सटहीमा १ प्रतिशतभन्दा बढी अन्तर राख्न नपाइने

सुनाखरी न्युज/ काठमाडौं । बैंक तथा वित्तीय संस्थाले अमेरिकी डलरबाहेक परिवर्त्य विदेशी मुद्रा सटही गर्दा खरिद र बिक्री दरको अन्तर १ प्रतिशतभन्दा बढी राख्न नपाउने भएका छन् ।

 

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशनमार्फत बुधबार उक्त व्यवस्था गरेको हो । यसअघि अमेरिकी डलर सटहीमा मात्र खरिद दर र बिक्री दरको अन्तर नेपाली ६० पैसाभन्दा बढी हुन नपाउने व्यवस्था थियो । उक्त व्यवस्था कायमै राखेर राष्ट्र बैंकले अहिले अमेरिकी डलरबाहेकका परिवर्त्य विदेशी मुद्राको हकमा १ प्रतिशतको सीमा तोकेको हो ।

 

यसअघि डलरबाहेकका परिवर्त्य विदेशी मुद्राको हकमा यस्तो सीमा तोकिएको थिएन । यही कारण बैंक तथा वित्तीय संस्थाले ६/७ प्रतिशतसम्म पनि बढी रकम लिएर सटही दिँदै आएका थिए । ‘बैंक तथा वित्तीय संस्थाले परिवर्त्य विदेशी मुद्राको विनिमय दर तोक्दा सम्बन्धित परिवर्त्य विदेशी मुद्राको न्यूनतम खरिद दर (५० भन्दा साना दरका नगद नोट खरिद समेत) र बिक्रीदर बीचको फरक १ भन्दा बढी नहुने गरी तोक्नु पर्नेछ,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ, ‘तर, अमेरिकी डलरको हकमा त्यस्तो फरक ने.रु.०.६० भन्दा बढी हुने छैन ।’