२०८० चैत्र १५ , बिहिवार

बालुवाटारमा सत्ता गठबन्धनको बैठक, मन्त्रालय बाँडफाँटबारे छलफल

सुनाखरी न्युज/ काठमाडौं ।
बालुवाटारमा सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस र माओवादी केन्द्रसहित सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठक बसेको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसहित नेताहरु सहभागी छन् । बैठकमा मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँटका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

 

प्रधानमन्त्री दाहालले ६ चैतमा विश्वासको मत लिए पनि अहिलेसम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । तत्कालीन गठबन्धनका एमाले, रास्वपा र राप्रपाले सरकार छोडेपछि अहिले १६ मन्त्रालय प्रधानमन्त्री दाहालको काँधमा छन् ।

 

नेताहरुले एक साताभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिने गरी छलफल भइरहेको बताएका छन् । कांग्रेस उपसभापति खड्काले मन्त्रिपरिषद् विस्तारका विषयमा गठबन्धन दलहरुका बीचमा छलफल भइरहेको र सहमति बन्ने बित्तिकै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी रहेको बताए ।