२०८१ बैशाख २३ , आइतवार

कसरी थाहा पाउने पाठेघरको समस्या ?

सुनाखरी न्युज/ काठमाडौं । पछिल्लो समय पाठेघरसँग सम्बन्धित विभिन्न रोगसँग महिलाहरु जुधिरहेका छन् । समग्र स्वास्थ्य, प्रजनन् र दीर्घायुको लागि महत्त्वपूर्ण पाठेघरको हेरचाहमा विशेष ध्यान नदिंदा विभिन्न रोगको जोखिम हुन्छ ।

 

महिलाको उमेरअनुसार पाठेघरमा देखिने समस्या फरक–फरक हुन्छ । पाठेघरमा मासु पलाउने, पाठेघरको मुखको क्यान्सर, डिम्बाशय ट्युमर, डिम्बाशयमा डल्लो पलाउने, सेतो गन्हाउने पानी बग्ने, पाठेघरको संक्रमण जस्ता समस्या देखिन्छन् । सेतो गन्हाउने पानी बग्ने, पाठेघर सुन्निदा अत्यधिक पेट दुख्ने र रगत जाने, समयमा महिनावारी नहुने, महिनावारी हुँदा अत्यधिक रगत बग्ने वा अत्यधिक पेट दुख्ने, सेतो पानी बग्ने, योनी चिलाउने, यौन सम्पर्क गर्दा दुख्ने वा रगत देखा पर्ने कुनै पनि महिलाको पाठेघरमा समस्या आउँदा देखिने लक्षण हुन् ।

 

महिनावारी भएपछि सेतो सफा र नगन्हाउने समस्या सामान्य रुपमा लिइन्छ । तर सेतो पानी बग्दा गन्हाउने, योनी चिलाउने र फोका देखिएमा संक्रमण भएको जनाउँछ । समयमा संक्रमणको उपचार नगरेमा फैलिंदै गएर पाठेघरको मुखको क्यान्सर समेत हुन सक्छ ।