२०८१ बैशाख १३ , बिहिवार

पेचिलो बन्दै मन्त्रालय बाँडफाँट, कसलाई कति दिने तयारी ?

सुनाखरी न्युज/ काठमाडौं ।
संसद्‌बाट दोस्रो पटक विश्वासको मत लिएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तारको गृहकार्य थालेका छन् । मन्त्रिपरिषद् विस्तारबारे गठबन्धन दलका शीर्ष नेताबीच अनौपचारिक छलफल भइसकेको छ ।

विश्वासको मत दिएका सबै दललाई मन्त्रिपरिषद्मा समेट्ने तयारी भइरहेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए । प्रधानमन्त्री दाहाललाई माओवादीका साथै कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोसपा, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी र स्वतन्त्र सांसद सिंहले विश्वासको मत दिएका छन् ।

कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलले सिट संख्याको अनुपातभन्दा धेरै दाबी गरेकाले भागबन्डामा सकस भइरहेको नेताहरूले बताएका छन् । सांसद सिट संख्याका आधारमा मन्त्रालय बाँडफाँट गर्ने प्रारम्भिक प्रस्ताव उनले शीर्ष नेतामाझ राखिसकेका छन् ।

 

प्रधानमन्त्री दाहालले कांग्रेसले ७-८, माओवादीले ४-५, राष्ट्रिय स्वतन्त्र पार्टीले ३-४, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले २–२, नागरिक उन्मुक्ति, जनमत र लोकतान्त्रिक समाजवादी पार्टीले १–१ र स्वतन्त्र रूपमा जितेका सांसद प्रभु साह (आम जनता पार्टी) र अमरेशकुमार सिंहमध्ये एक जनाले मन्त्री पाउने प्रारम्भिक अघि सारेका छन् । माओवादीका एक नेताका अनुसार यस प्रस्तावमा कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबाहेकका साना दलले चित्त बुझाएका छैनन् ।

 

कुन मन्त्रालय लिने भन्ने विषय पनि पेचिलो हुने देखिएको छ । एसले गृह मन्त्रालयमा दाबी गरेको छ । माओवादी अर्थ र गृहमध्ये एउटा नछाड्ने मनस्थितिमा छ । कांग्रेसले अर्थ मन्त्रालय पाउने सम्भावना रहेको नेताहरू बताउँछन् । रास्वपा अहिले नभए उपनिर्वाचनपछि सरकारमा जाने तयारीमा छ ।