२०८१ जेठ ६ , आइतवार

मुख गन्हाउने समस्या कम गर्ने घरेलु उपायहरु

सुनाखरी न्युज / काठमाडौं- झट्ट हेर्दा सामान्य देखिएपनि मुखको दुर्गन्धले धेरै मानिसलाई सताइरहेको हुन्छ । मुख गन्हाउने समस्यले साथीभाईबीच मात्र नभई पति पत्नीबीच पनि दूरी उत्पन्न हुन सक्छन् । मानिस जतिसुकै सुटेडबुटेड देखिएपनि मुख गन्हाउने भन्ने बित्तिकै उसको व्यक्तित्व निकै तल्लोस्तरमा पुग्न सक्छ ।बिहान उठ्दा कतिपय व्यक्तिहरूको मुखबाट गन्ध आउने भइरहेको हुन्छ । बिहान उठ्दा मुख गन्ध आउनुको कारण मुखमा थुकको मात्रा कम आउनु रहेको चिकित्सकहरू बताउँछन् ।

 

दिउँसो हामी बोल्छौँ । जति धेरै बोल्यो थुकको मात्रा त्यति धेरै आउँछ । थुकमा ‘एन्टिबायोटिक्स’ हुन्छ । राति मुख चल्दैन । राति मुख सुक्खा हुने हुँदा त्यहाँ ब्याक्टेरियाहरू वृद्धि हुने सम्भावना बढी हुन्छ । मुख सुक्खा हुँदा ब्याक्टेरियाहरू दाँतमा टाँसिने गर्छन् । सामान्यत पेटको समस्या भएमा मुखबाट दुर्गन्ध आउँछ । त्यसैगरी चुरोट, खैनी सेवन गर्नेहरुको मुखबाट पनि दुर्गन्ध आउँछ ।

 

मुखमा घाउ खटिरा आएमा, गाँठागठी आएमा, गिजा पाकेमा, दाँतमा किरा लागेमा, खाल्डो परेमा तथा दाँत राम्ररी सफा नभएमा पनि मुख तथा सास गन्हाउने गर्छ । त्यसैगरी, दाँतको कापमा तथा मुखमा फोहर जम्मा भएर बसेमा पनि त्यहा अड्किएका फोहरका कारण मुख गन्हाउने गर्छ ।कतिपय अवस्थामा चाहि मुखको दुर्गन्ध अरु समस्याले गर्दा हुनसक्छ । जस्तो कि, कलेजको संक्रमण भएमा । मिर्गौलाको समस्या भएमा ।

 

केही घरेलु उपाय

अनारको बोक्रा पानीमा उमालेर कुल्ला गर्नाले, सुख्खा धनिया चपाउनाले, तोरीको तेलमा अलिकता नुन मिसार दैनिक एकपटक दाँत तथा गिजाको मालिस गर्नाले पनि दुर्गन्ध कम हुन्छ ।

यस्तै, तुलसीको चार–पाँच वटा पात दिनहु खाएर पानी पिउनाले, एउटा ल्वाङ मुखमा राखेर चुस्नाले र खाना खाएपछि आधा चम्चा सौंफ चपाउनालेपनि खाना पच्ने र मुख गन्हाउने समस्याबाट छुटकारा मिल्छ ।

यति गर्दा पनि दुर्गन्ध हट्दैन भने एकपटक चिकित्सकको सल्लाह लिनुपर्छ।