२०८० चैत्र १६ , शुक्रवार

उच्च रक्तचापले चिन्तित हुनुहुन्छ ? यसो गर्नुहोस् …

सुनाखरी न्युज/ काठमाडौं ।

उच्च रक्तचाप अहिले धेरै मानिसको समस्या वन्न थालेको छ ।  उच्च रक्तचाप हुनुका पछाडि केही कारण छन् । जस्तो कि, वंशाणुगत, मिर्गौला र मुटुको समस्या, तनाव आदि । त्यससँगै यसमा मुख्य जिम्मेवार मानिन्छ खानपानलाई पनि । धेरै मात्रामा नुन, बोसोयुक्त, मैदाजन्य, प्याकेटबन्द वा फास्टफुड खानेकुराले उच्च रक्तचापको जोखिम बढाउँछ ।

उच्च रक्तचापको समस्या भए का व्यक्तिले नुन तथा धेरै नुन प्रयोग भएका खानेकुरा एकदमै कम खानुपर्छ । नुनमा सोडियमको मात्रा धेरै हुन्छ, जसले रक्तचाप बढाउने काम गर्छ । धेरै तेलमा तारेको खानेकुरामा स्याचुरेटेड फ्याट हुन्छ, यसले पनि रक्तचाप बढाउने भयो । यसले हृदयरोगको जोखिम बढाउन सक्छ ।

शरीरलाई चाहिनेभन्दा बढी कार्बोहाइड्रेटको सेवन पनि राम्रो हुँदैन । धेरै कार्बोहाइड्रटयुक्त खानाले मोटोपन बढाउँछ, जसले रक्तचाप पनि बढ्छ ।

रक्तचापको समस्या भएमा रक्सी र धुम्रपान पनि त्याग्नुपर्छ । अल्कोहलमा क्यालोरी धेरै हुन्छ, जसले तौल बढाउन सक्छ । यसले रक्तचाप बढ्न सक्छ । साथै यसले मुटुरोगको जोखिम पनि बढाउन सक्छ । धुम्रपानका कारण धमनीहरू कडा र साँघुरो हुन थाल्छन्, जसकारण रक्तचाप बढ्न थाल्छ । त्यसैले यी चीजको सेवनबाट टाढा रहनु राम्रो हुन्छ ।

 

 

उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग गर्ने खानेकुरा

उच्च रक्तचाप नियन्त्रणको लागि विश्व स्वास्थ्य संगठनले ‘ड्यास डाइट’ डाइट प्लान सुझाएको छ । जसले खानपानको मद्दतबाट कसरी उच्च रक्तचापलाई नियन्त्रणमा राख्न सकिन्छ भन्ने सुझाव दिन्छ ।

‘ड्यास डाइट’ले सम्पूर्ण अन्न, रंगीन फलफूल र तरकारी खान सल्लाह दिन्छ, किनकि त्यसमा प्रशस्त मात्रामा एन्टीअक्सिडेन्ट र फ्लेभोनोइड्स हुन्छ ।

सम्पूर्ण अन्न

प्रशोधन नगरिएको गहुँ, मकै, जौ, चामल लगायत चोकरसहितका अन्नको सेवन गर्नु राम्रो हुन्छ । यस्ता खानेकुरामा फाइबर, भिटामिन, आइरन फस्फोरस, म्याग्नेसियम र क्याल्सियम हुन्छ ।

हरियो सागपात

उच्च रक्तचापको समस्या भएकाले हरियो सागपात प्रशस्त मात्रामा खानुपर्छ । यसमा भिटामिन, एन्टीअक्सिडेन्टको मात्रा धेरै हुन्छ । जसले उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ ।

फलफूल

स्याउ, सुन्तला, आँप लगायत फलफूलको दैनिक सेवन गर्नु पनि उच्च रक्तचाप नियन्त्रणको लागि उपयोगी हुन सक्छ । फलफूलमा भिटामिन र पोटासियम जस्ता खनिज हुन्छन् । यसले रक्तचाप कम गर्न मद्दत गर्छ । त्यसैले दैनिक एउटा मौसमी फलफूलको सेवन गर्नु राम्रो हुन्छ ।

तेल

स्याचुरेटेड फ्याट तथा वनस्पति तेलको प्रयोग एकदमै कम गर्नुपर्छ । ओमेगा ३, ओमेगा ६, भएका तेलको प्रयोग गर्नुपर्छ । राम्रो फ्याटको लागि ओखर, बदाम, माछा जस्ता खानेकुरा खानुपर्छ ।

रक्तचाप नियन्त्रण गर्ने

नियमित रूपमा रक्तचाप जाँच गर्ने

मोटोपन नियन्त्रण गर्ने

दैनिक योग र व्यायाम गर्ने

पर्याप्त पानी पिउने

खानपान र जीवनशैली परिवर्तन गर्ने

चिकित्सकले तोकेको औषधि तोकिएको समयमा खाने