२०८१ बैशाख ८ , शनिवार

युवाले गाँजा सेवन गर्न थालेपछि गाँजा फडानी अभियान सुरु

सुनाखरी न्युज/ काठमाडौं । बाँके र बर्दियाको सीमास्थित मानखोला नजिकै बढी परिमाणमा गाँजा उम्रिएपछि स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले फडानी गरेको छ ।

 

ईलाका प्रहरी कार्यालय धनौलीमातहतको रनियापुर प्रहरी चौकीका सहायक निरीक्षक गजेन्द्रसिंह भण्डारीको कमाण्डमा खटिएको प्रहरी टोलीले स्थानीय बासिन्दासहितको सहभागितामा गाँजा फडानी गरेको छ । बैजनाथ गाउँपालिका ८ टिटिहिरियाको गुरुदयालपुर र आसपासको क्षेत्रमा जमिनमा ठूलो परिमाणमा गाँजा उम्रिएपछि स्थानीय र बाह्य युवाले गाँजा सेवन गर्न थालेपछि नियन्त्रणका लागि प्रहरीलाई अनुरोध गरिएको वडा सदस्य धीरेन्द्रसिंह ठकुरीले जानकारी दिनुभयो ।

 

इलाका प्रहरी कार्यालय धनौलीका इन्चार्ज प्रहरी निरीक्षक सन्दीप बेल्बासेले सबै प्रकारका लागू औषधको सेवन, ओसारपसार र कारोबार नियन्त्रणका लागि प्राथमिकताका साथ कार्ययोजना बनाएर प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो । भारतीय सीमावर्ती क्षेत्र भएका कारण भारतबाट विभिन्न प्रकारका लागु औषध भित्राएर यहाँ सेवन र कारोबार हुने गरेको जनगुनासो व्यापक छ ।