२०८१ बैशाख ७ , शुक्रवार

नेपाल एकीकरणजस्तै आर्थिक समृद्धिको अभियान पनि गोरखाबाटै सुरु गरौँ : वरिष्ठ उपाध्यक्ष ढकाल

सुनाखरी न्युज/ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गोरखाको विकासका लागि बूढीगण्डकी जलविद्युत आयोजना छिटो अघि बढाउनुपर्ने बताएका छन्।

 

गोरखा उद्योग वाणिज्य संघको ४७औँ वार्षिक साधारणसभालाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले गोरखा जिल्लाको आर्थिक समृद्धि र विकासमा रणनीतिक भूमिका रहेका दुई ठूला आयोजनाहरु गोरखकाली रबर उद्योग पुनः सञ्चालन र बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको काम तत्काल सुरु गर्नुपर्नेमा जोड दिएका हुन्। ‘नेपाल सरकारबाट सहजीकरण र सहयोग भएमा गोरखकाली रबर उद्योग संचालन गर्न मैले पनि पहल गर्नेछु। यसलाई तुरुन्त अगाडि बढाउन सकिन्छ’, उनले भने, ‘यसका साथै बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको काम तत्काल सुरु गर्न आग्रह गर्न चाहन्छु।’

 

ढकालले मनकामना आउने पर्यटकलाई गोरखा दरबार र यहाँका अन्य पर्यटकीयस्थलहरुसम्म ल्याउन पहल गर्नुपर्ने र यहाँका सुन्तलालगायत स्थानीय उत्पादनको बजारीकरण गर्न आवश्यक रहेको औँल्याए। कोरोनाभाइरस महामारीपछि आन्तरिक पर्यटनले अर्थतन्त्र चलायमान बनाउन ठूलो सहयोग गरेको उल्लेख उनले गोरखामा पर्यटन क्षेत्रको ठूलो सम्भावना रहेको र आफूले यहाँको पूर्वाधार विकासका लागि सहकार्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे। ‘नेपाल एकीकरण गोरखाबाट सुरु भएर सफल भयो’, उनले भने, ‘अब आर्थिक रुपमा पनि गोरखालाई महत्वपूर्ण जिल्लाका रुपमा बिकास गर्नुपर्छ।’‘अहिले मुलुकको प्रधानमन्त्री यही जिल्लाकै हुनुहुन्छ। महत्वपूर्ण र धेरै विकास बजेट भएको मन्त्रालयमा पनि यही जिल्लाकै उपप्रधान मन्त्री तथा भौतिक विकास मन्त्री हुनुहुन्छ’, ढकालले भने, ‘तपाइँ हामी सबै पहल गरौँ। नेपाल एकीकरणको सुरु गोरखा जिल्लाबाट भएजस्तै अब मुलुकको आर्थिक समृद्धि र विकासको अभियान पनि यहीँबाट सुरु गरौँ।’

 

कोरोना महामारीपछि मुलुकको अर्थतन्त्रमा विभिन्न समस्याहरु देखिएको भन्दै ढकालले व्यवसायीहरुलाई संयमित भएर व्यवसाय गर्न आग्रह गरे। ‘कोरोना माहामारीसँगै मुलुकको अर्थतन्त्रमा धेरै समस्याहरु देखिएका थिए। हामी महासंघको नेतृत्व बैंकको ब्याजदरलगायत व्यवसायीहरुका समस्याको समाधानका लागि नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा विभिन्न पक्षसँग वार्ता र छलफल गरिरहेका छौँ’, उनले भने, ‘त्यसकै फलस्वरुप आंशिक रुपमा भए पनि व्यवसायीहरुका मागहरु सम्बोधन भएका छन्। हामी महासंघका तर्फबाट व्यवसायीका सबै माग सम्बोधन नभएसम्म निरन्तर पैरवी गरिरहनेछौँ।’

 

ढकालले ब्याजकै विषयलाई लिएर बैकका कर्मचारीमाथि कुटपिट गर्नेजस्ता गलत क्रियाकलापहरु सुरु भएको र यो काम अत्यन्त निन्दनीय रहेको बताए। उनले बैंकको ब्याजदर अर्थतन्त्रका धेरै पक्षहरुले निर्धारण गर्ने हुँदा कुनै एक बैंकको व्यवस्थापकलाई कुटपिट गर्दैमा यो समस्याको समाधान नहुने पनि बताए। महासंघको आगामी ५७औँ अधिवेशनमा विभिन्न पदमा प्रत्यासी साथीहरुलाई सस्तो लोकप्रियताका लागि गैरजिम्मेवार र हुनै नसक्ने कुरा नगर्न पनि ढकालले आग्रह गरेका छन्।