२०८१ बैशाख ८ , शनिवार

इक्वेडरमा शक्तिशाली भूकम्प,  खोज तथा उद्दार कार्य जारी

Earthquake

सुनाखरी न्युज/ काठमाडौं । दक्षिण अमेरिकी राज्य इक्वेडरमा गएको शक्तिशाली भूकम्पमा परी १२ जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार मध्य दिनमा गएको ६ दशमलब ७ म्याग्निच्युडको भूकम्पले कयौं शहरमा घरहरु भत्किएका छन् ।

 

दक्षिणी राज्य एल ओरो सबैभन्दा प्रभावित छ । भत्किएका घरका भग्नावशेषभित्र मानिसहरु थुनिएको आपतकालिन सेवाले जनाएको छ । अधिकारीका अनुसार मृतक मध्ये ११ जनाको एल ओरो राज्यमा मृत्यु भएको र एक जनाको अजोए राज्यमा मृत्यु भएको छ । भूकम्पको असर दुई वटा शहरमा बढी परेको छ । माचाला र क्वेन्का शहरमा धेरै घरहरु भत्किनुका साथै सवारी साधनमा पनि क्षति पुगेको छ । आपतकालिन सेवालाई यहाँका सर्वसाधारणलाई आवश्यक सहयोग पुर्‍याउन पनि हम्मे हम्मे परेको छ ।

 

भूकम्पको केन्द्रविन्दू बालाओ नजिक छ । यो इक्वेडरकै दोस्रो ठूलो शहर ग्वाएकेल बाट ८० किलोमिटरको दूरीमा रहेको छ । खोज तथा उद्दार कार्य जारी छ । घाइतेहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको जनाइएको छ । तर कति जना घाइते भएका छन् भन्ने तथ्यांक भने सार्वजनिक भएको छैन । भूकम्पका कारण गएको पहिरोका कारण कयौ सडकहरु अवरुद्ध हुनुका साथै निजी घर, शैक्षिक संस्था र स्वास्थ्य संस्थाहरु क्षतिग्रस्त भएका छन् । इक्वेडरमा सन् २०१६ मा ७.८ म्याग्निट्युडको शक्तिशाली भूकम्पपछि आएको अर्को शक्तिशाली भूकम्प हो । त्यतिबेला सात सय जनाको ज्यान गएको थियो भने हजारौँ घाइते भएका थिए । भूकम्पको धक्का छिमेकी राष्ट्र पेरुसम्म महसुस भएको थियो । तर त्यहाँ भएको क्षतिका सम्बन्धमा हालसम्म केही विवरण प्राप्त भएको छैन ।