२०८१ बैशाख ८ , शनिवार

फिल्म निर्देशक प्रताप सुब्बाको निधन

 

सुनाखरी न्युज / काठमाडौं –  ‘परालको आगो’ फेम्ड वरिष्ठ निर्देशक प्रताप सुब्बाको बिहीबार ७८ वर्षको उमेरमा निधन भएको छ । भारतको पश्चिम बंगालका स्थानीय सञ्चारमाध्यमका अनुसार सिलीगुडीस्थित एक अस्पतालमा उनको निधन भएको हो । उनी पहिलो नेपालीमूलका भारतीय फिल्म निर्देशक समेत हुन् ।

 

२०३५ सालमा रिलिज भएको परालको आगो निर्देशन गर्दै करिअर थालेका सुब्बाले बाँच्न चाहनेहरु, मसाल, कहीं अँध्यारो कहीं उज्यालो, दिदी, चट्याङ र भीष्म प्रतिज्ञा जस्ता व्यावसायिक र समीक्षात्मक रुपमा चर्चित नेपाली फिल्म निर्देशन गरेका छन् ।नेपाली मौलिक फिल्मका प्रणेता मानिने सुब्बा निर्देशित परालको आगो नेपालबाहिर बनेको पहिलो मौलिक नेपाली फिल्म थियो । यसलाई साहित्यलाई अंगीकार गरिएको फिल्म मानिन्छ । निर्देशक तथा निर्माता नीर शाहका अनुसार सुब्बा बंगाली निर्देशक सत्यजित रे र मृणाल सेन स्कुल अफ थटका निर्देशक हुन् ।

 

४० को दशकमा नेपाल आएका उनले चर्चित नेपाली फिल्म र टेलिफिल्म निर्देशन गरेर ५० को दशकमा पुनः दार्जिलिङ फर्किएका थिए । अघिल्लो संस्करणको नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल ९निफ०मा उपस्थित भएर उनले आफ्ना कुरा सुनाएका थिए । त्यतिबेला बोल्दै उनले ‘कहीं अँध्यारो कहीं उज्यालो’ फिल्मलाई कम्युनिस्ट फिल्म भनेर चल्न नदिएको स्मरण गरेका थिए । उक्त फिल्ममा धनी र गरिबबीचको विभेदलाई प्रस्तुत गरिएको भन्दै उनले सो फिल्मलाई कम्युनिस्टको ट्याग लागेको बताएका थिए ।

 

पहिलोपटक फिल्म बनाउन नेपाल आइपुगेका उनले राजेन्द्रकृष्ण मानन्धरसँग मिलेर भिडियो फिल्म ‘बन्द खामभित्र’ निर्माण गरेका थिए । नीर शाहलाई देखाएर उनले यो फिल्मको सेन्सर समेत गरेका थिए । प्रदर्शनीमार्गमा यो फिल्म देखाएर राम्रै पैसा कमाएको अनुभव उनीसँग छ । त्यतिबेला म्हेपीमा बस्ने उनले सरोज खनाल र मिथिला शर्मालाई लिएर फिल्म ‘दिदी’ बनाएका थिए तर यो चलेन ।२०५० सालमा उनले फिल्म ‘चट्याङ’को पटकथा लेखे । ‘भीष्म प्रतिज्ञा’पछि उनी दार्जिलिङ फर्किए । उनले डायमण्ड एक्टिङ इन्स्टिच्युट, सिने युनिभर्स खोलेर प्राविधिक जन्माए । क्यामेरा एडिटिङ सिकाए ।