२०८१ बैशाख ८ , शनिवार

रिपोमार्फत १५ अर्ब रुपैयाँ बजार पठाउँदै राष्ट्र बैंक

सुनाखरी न्युज/ काठमाडौं । वित्तीय प्रणालीमा तरलताको अवस्था सहज नभएको भन्दै राष्ट्र बैंकले बिहीबार रिपोमार्फत् १५ अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ ।

 

यसअघि गत फागुन १७ मा राष्ट्र बैंकले रिपोमार्फत १४ दिनका लागि बजारमा पठाएको २० अर्ब रुपैयाँको परिपक्व अवधि फागुन ३० मा सकिएको छ । उक्त रिपोको परिपक्व अवधि सकिएपछि राष्ट्र बैंकले पुनः १५ अर्ब रुपैयाँ बजारमा पठाउन लागेको हो । दुई साता अघिको तुलनामा अहिले वित्तीय प्रणालीमा तरलताको अवस्थामा सुधार भएपनि अझै १५ देखि २० अर्ब कम (सर्टफल) रहेको निष्कर्षका आधारमा राष्ट्र बैंकले आज रिपो मार्फत १५ अर्ब रुपैयाँ बजारमा पठाउन लागेको हो । यसपटक पनि राष्ट्र बैंकले १४ दिनका लागि बजारमा पैसा पठाउन लागेको हो ।

 

राष्ट्र बैंकले बुधबार सूचना जारी गरेर बोलकबोलका लागि बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको हो । सूचना अनुसार आज राष्ट्र बैंकले रिपो जारी गर्नेछ । रिपोमा क, ख, ग वर्गका बैंक तथा वित्तीय संस्थाले बोलकबोलमा सहभागी हुन पाउनेछन् । बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ देखि ५ करोड रुपैयाँसम्म रकमक लागि बोलकबोल गर्न सक्नेछन् ।