२०८१ बैशाख ४ , मंगलबार

स्ववियु निर्वाचनः आज मध्यरातिदेखि मौन अवधि सुरु

सुनाखरी न्युज/ काठमाडौं । चैत ५ गते हुने स्वतन्त्र विद्याथी युनियन (स्ववियु) निर्वाचनका लागि बिहीबार मध्यरातिदेखि मौन अवधि सुरु हुने भएको छ ।

 

उम्मेदवारहरुले आज चैत २ गते राति १२ बजेसम्म मात्र प्रचार–प्रसार गर्न पाउने त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जनाएको छ । त्यसपछि मौन अवधि सुरु हुने भएकाले कुनै पनि माध्यमबाट भोट माग्न वा प्रचार गर्न पाइँदैन । स्ववियु निर्वाचनको मतदान भने चैत ५ गते बिहान ८ बजेदेखि अपरान्ह चार बजेसम्म तोकिएको छ । अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । यसैगरी उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य भने समानुपातिक प्रणालीबाट चयन हुनेछन् ।

 

त्रिविका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन हुनेछ । कतिपय क्याम्पसमा विवादका कारण निर्वाचन अनिश्चित छ भने केही क्याम्पसहरुमा निर्विरोध नेतृत्व चयन भइसकेका छन् ।