२०८१ बैशाख ७ , शुक्रवार

नयाँ अवतारमा महिन्द्रा बोलेरो, इन्टेरियर पनि अब्बल

सुनाखरी न्युज/ काठमाडौं । महिन्द्रा एण्ड महिन्द्राले आफ्नो निकै सफल बोलेरो एसयूभीलाई नयाँ जेनेरेशन मोडलमा ल्याउने भएको छ । बोलेरोको पुरानो भर्सन नेपालमा भने सन् २०२० देखिनै विक्री वितरण बन्द भएको थियो ।

 

नेपालको सबै किसिमको बाटोमा उत्कृष्ट पर्फमेन्स दिन सफल बोलेरो एसयूभी पहाडी बाटोको लागि कम मूल्यमा निकै उपयोगी एसयूभी मानिन्थ्यो । भारतमा पनि निकै सफल बोलेरो एसयूभीको नयाँ जेनेरेशन मोडल लगभग तयार भएको हो । नयाँ जेनेरेशन बोलेरोको इन्टेरियर र एक्स्टेरियरमा ब्यापक परिमार्जन भएर आउन लागेको हो । नयाँ महिन्द्रा बोलेरोको अगाडिको भागमा एलइडी डिआरएल लाइटको साथमा प्रोजेक्टर हेडलाइट रहने छ । यसमा कलरिङ विशेषता सहितको फग लाइट पनि पाउन सकिन्छ ।

 

अफ रोड बाटोको लागि उपयोगी बलेरोमा उच्च ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ भने १७ इन्चको अलोय ह्वीलले गाडीलाई निकै मस्कुलर देखाएको छ । महिन्द्राले नयाँ जेनेरेशन बोलेरोको पछाडिको भागमा म्याग्नेटीक आकारको एलइडी टेल लाइट, रिफ्लेक्टर टुल लगायत समावेश हुने अपेक्षा गरिएको छ । त्यसैगरी, नयाँ महिन्द्रा बोलेरोको इन्टेरियर पहिलेको तुलनामा निकै फरक देख्न सकिने भएको छ । कम्पनीले यसमा नयाँ एन्ड्रोइड अटो कनेक्टिभिटी सहितको ७ इन्चको डिस्प्ले रहने छ ।

 

सुरक्षाको लागि थुप्रै नयाँ फिचर रहने बोलेरोमा क्रुज कन्ट्रोल, ४ वटा एयरब्याग, ईबीडी सहितको एबीएस लगायतका फिचर रहने छन् । ७ सिट क्षमतामा आउने बोलेरोमा १८३ लिटरको बुट स्पेश रहने अपेक्षा गरिएको छ । कम्पनीले यसमा १.५ लिटरको डिजेल इन्जिन दिइएको छ । यो इन्जिनले अधिकतम ७४ बिएचपी र २१० एनएम टर्क प्रदान गर्छ ।