२०८१ बैशाख १४ , शुक्रवार

यूएईविरुद्ध नेपालले पहिले बलिङ गर्दै

सुनाखरी न्युज/ काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को अन्तिम तथा निर्णायक खेलमा नेपालले टस हारेर पहिले फिल्डिङको निम्तो पाएको छ । बिहीबार बिहान त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूएईले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।

 

यसअघि नै एकदिवसीय मान्यता जोगाएको नेपालले बिहीबार यूएईलाई हराएमा एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ ।बिहीबारको खेल नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो र महत्त्वको हो । आजको खेल जितेमा नेपालले ३९ अंक रहेको नामिबियालाई उछिन्दै जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छनोट खेल्न पाउनेछ । पछिल्लो समय नेपाल उत्कृष्ट लयमा रहेको छ ।

 

फेब्रुअरी १४ मा नामिबियालाई कीर्तिपुर मैदानमै हराएयता नेपालले खेलेका ११ खेलमध्ये १० मा जित हात पारेको छ । नेपाल क्रिकेट संघका अनुसार बिहीबारको खेलका लागि मैदानको क्षमताबराबरको टिकट बिक्री भएको छ । खेल सुरु हुनभन्दा पहिले मैदानमा दर्शकहरूको बाक्लो उपस्थिति भइसकेको छ ।