२०८० चैत्र १६ , शुक्रवार

च्याउखेतीबाट वार्षिक १० करोडको कारोबार

सुनाखरी न्युज/ काठमाडौं । बागमती नगरपालिका(१० का स्थानीय ध्रुव चौलागार्इंले च्याउखेती सुरु गरेको १० वर्ष भयो । विभिन्न देशमा गरी एक दशक वैदेशिक रोजगारीमा बिताउनुभएका उहाँ तराईका जिल्लाबाट ठूलो परिमाणमा गोलभेँडा र च्याउ काठमाडौँ ढुवानी भइरहेको देखेपछि आफू त्यसतर्फ आकर्षित हुनुभएको हो ।

 

काठमाडौँ उपत्यकामा च्याउ र गोलभेँडाको राम्रो मागदेखि पनि तत्कालीन समयमा रू एक लाख लगानीमा उहाँले ध्रुव कृषि फर्म प्रालि दर्ता गरी च्याउखेती सुरु गर्नुभएको हो । “जब मैले तराईका जिल्लाबाट ठूलो मात्रामा गोलभेँडा र च्याउ काठमाडौँ लैजाँदै गरेको देखेँ तब यो सोच पलाएको थियो”, उहाँले भन्नुभयो, “त्यसपछि यो खेतीमा राम्रो सम्भावना छ देखेरै विदेशको जागिर छाडेर यसैमा सक्रिय भएको हुँ ।”रू एक लाख लगानीमा एक सय ५० पोका च्याउबाट सुरु भएको व्यवसायमा हालसम्म रू ११ करोड भइसकेको छ भने १७ जनाले रोजगारी पनि पाएका छन् । उहाँले हाल अहिले एक बिघा जमिनमा ठूला आठ वटा अत्याधुनिक टनेलका बनाउनुभएको छ । फर्ममा उत्पादित च्याउको थोक बिक्रीबाट वार्षिक रू १० करोडसम्म कारोबार गरेको उहाँको भनाइ छ ।

 

व्यवसायमा आमा, बुबा, श्रीमति र छोराको राम्रो साथ पाउनु भएका उहाँले कोरोना महामारीको समयमा विद्युत् सर्ट भएर फर्ममा आगलागी भइ क्षति हुँदा करिब रू नौ करोड ऋण लागेको बताउनुभयो । कक्षा १२ सम्मको अध्यायन गर्नुभएका चौलागाईं बिहानदेखि रातिसम्म फर्ममा कर्माचारीसँगै खटिनुहुन्छ । “च्याउबाट निरन्तर आम्दानी हुँदैन, मौसम अनुसार उत्पादन भएकालाई बजार पु¥याउनुपर्छ”, उहाँले भन्नुभयो, “फर्ममा कन्या र गोब्रे च्याउ उत्पादन भइरहेको छ ।”हाल फर्ममा कन्या, गोब्रे, सिताके, ज्ञानडोर्न र पत्याको लगायतका च्याउका जातको बिउ उत्पादन गर्नुका साथै कम्पोष्ट बनाउने पनि काम भइरहेको जानकारी दिनुभयो । यहाँ उत्पादन हुने च्याउ स्थानीय बजारका साथै मकवानपुर, चितवन र काठमाडौँलगायतका बजारमा पुग्ने गरेको चौलागाईंको भनाइ छ । उहाँले च्याउ हाल प्रतिकिलो रू तीन सय ५० का दरले बिक्री गर्दै आउनुभएको छ ।

 

सात जनालाई आवासीय जागिर

चौलागार्इंले प्राविधिक शिक्षा तथा व्यावासायीक तालिम परिषद् (सिटिइभिटी)बाट तालिम लिनुभएको छ । उहाँले तनहँुका दुई जना र बुटवलका पाँच जना गरी सात जनालाई आवासीय जागिर पनि दिनुभएको छ । फर्म हेरचाहदेखि च्याउका लागि कच्चापदार्थ तयार गर्ने, बिउ उत्पादन गर्ने लगायतका काम गर्नुपर्छ । यो बाहेक आवश्यकता अनुसार अन्य काम गर्न स्थानीय १० जनालाई पनि फार्ममा राख्नुभएको छ । आफू, श्रीमती, छोरा र आमाबुबाका साथै १७ जना मजदुर गरी २३ जनाले निरन्तर फर्ममा काम गरिरहनुभएको छ । उहाँले आफू यतिबेला उत्पादन वृद्धि गर्दै बजारीकरण बढाउने प्रयासमा हुनुहुन्छ । सुरुमा बागमती नगरपालिकाले रू १० लाख अनुदान दिएको र त्यसपछि कही कतैबाट आफूले सहयोग नपाएको चौलागार्इंले सुनाउनुभयो ।रासस