२०८० चैत्र १६ , शुक्रवार

ब्याजदर घट्दा पनि रोकिएन शेयर बजारको गिरावट

Share Down

सुनाखरी न्युज/ काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले आजदेखि लागू हुनेगरि ब्याजदर घटाएका छन् । ब्याजदर घट्दा समेत शेयर बजार बढ्न सकेको छैन । आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १४.४४ अंकले घटेर एक हजार ९ सय ३८ दशमलब ६२ विन्दुमा पुगेको हो ।

 

त्यस्तै, आज नेप्सेमा एक अर्ब २० करोड २१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका ५१ कम्पनीको शेयरमूल्य बढेको छ भने १४९ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै १४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । नेप्सेका अनुसार घटेको बजारमा दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १४५८.४० रुपैयाँ पुगेको छ भने शुभम पावर कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ४६९.१० रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार किसान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआइसी एशिया बैंकको भएको छ । यस कम्पनीको आज १० करोड ३५ लाख भन्दा बढीको कारोबार भएको छ ।