२०८१ बैशाख १३ , बिहिवार

माग पूरा नभए बञ्चरेडाँडामा फोहोर फाल्न नदिने चेतावनी

सुनाखरी न्युज/ काठमाडौं । आगामी वैशाख मसान्तसम्ममा माग सम्बोधन नभए बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर फाल्न रोक लगाइने ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले चेतावनी दिइएको छ।

 

बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले बैशाखसम्म आफ्ना सबै माग सम्बोधन नभएमा जेठदेखि फोहोर फाल्न नदिने चेतावनी दिएको हो। सरोकार समितिका संयोजक श्रीराम ढुंगाना र उपसंयोजक सनत उप्रेतीले संयुक्त रुपमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकालाई पत्रचारमार्फत उक्त जानकारी गराएको हो। वञ्चरेडाँडा ल्याण्डफिल साईटका बारेमा नेपाल सरकार र सम्बन्धित नगरपालिकाहरु, स्थानीय क्षेत्रका, धुनिवेशी नगरपालिका र ककनी गाउँपालिकाका स्थानीय निकायका जिम्मेवारी प्राप्त अधिकारीबाट प्रभाववित क्षेत्रका आम नागरिककको जिउधन, वातावरण विनाश लगाएतका विषयमा जिम्मेवार हुन नसकेको भन्दै सर्वत्र हाँसोको पात्र भएको विज्ञप्तिमा भनिएको छ।

 

‘प्रभाविन क्षेत्रमा मानववस्ती रहित क्षेत्र कायम गर्ने वा फोहरमैला निषेधित क्षेत्र गर्ने भन्ने सन्दर्भमा सरकार तथा सम्वद्ध पक्ष स्थानीय निकाय समेतले २०८० वैशाख मसान्त भित्र सरकारको त्यस्तो धारणा सहित विश्वास योग्य कार्यन्वयन प्रकृया सुरु नगरे स्थानीय नागरिकद्वारा २०८० जेष्ठ १ गतेदेखि उक्त क्षेत्रमा फोहरमैला लैजान सदाका लागि पूर्ण रूपमा रोक लगाइने व्यहोरा अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ। महानगरपालिका र स्थानीय सरोकारावाला बिच पटक पटक छलफल भएपछि फोहोरमैला बिसर्जन सुरू भएको हो।