२०८१ बैशाख ४ , मंगलबार

विदेशी पर्यटकका लागि चीनले खोल्यो ढोका, आजबाट भिसा प्रक्रिया सुरु

सुनाखरी न्युज/ काठमाडौं । कोरोना महामारीको तीन वर्षपछि चीनले अन्ततः विदेशी पर्यटकका लागि आफ्नो ढोका खोलेको छ।

 

भिसा आवेदन प्रक्रिया मार्च १५ गते अर्थात आजबाट सुरु भएको छ। यससँगै हाइनान टापु र सांघाईमा क्रुज जहाजका लागि भिसा फ्री प्रवेश सुरु गरिएको छ। चीन सरकारले मंगलबार यो घोषणा गरेको हो। तर, पर्यटकलाई चीन प्रवेश गर्नका लागि कुनै किसिमको मेडिकल रिपोर्ट चाहिने हो वा होइन भन्नेबारे कुनै जानकारी दिइएको छैन। सन् २०२० मार्च २८ देखि चीनको अन्तर्राष्ट्रिय सिमाना बन्द गरिएको थियो। सी जिनपिङ सरकारको कडा शून्य कोभिड नीति चीनभित्र पनि कोरोनाभाइरसबाट मानिसलाई बचाउन लागू गरिएको थियो। चिनियाँ सरकारको कडा नियमले चीनका धेरै महत्वपूर्ण क्षेत्रहरूमा आर्थिक प्रभाव पनि देखियो।

 

सन् २०२२ मा धेरै मानिसले जिनपिङ सरकारको यो नीतिको विरोध गर्न थाले। त्यसपछि जिनपिङ सरकारले कडा नियमहरु खुकुलो पारेको थियो।केही समयअघि चीन सरकारले कोरोनाभाइरस पूर्ण रुपमा नियन्त्रण भइसकेको घोषणा गर्दै कडा प्रतिबन्ध हटाएको थियो। कोरोना महामारीअघि बर्सेनि करोडौँ विदेशी पर्यटक चीन जाने गर्थे। तर, कोरोनापछि चीनको कडा नियमका कारण पर्यटन उद्योगलाई ठूलो आर्थिक धक्का लागेको छ। तर, विदेशी पर्यटक आउन थालेसँगै पर्यटन क्षेत्र पुनः ट्रयाकमा आउन थालेको विज्ञहरु बताउँछन्।

 

अर्कोतर्फ चिनियाँ नागरिकलाई पनि जिनपिङ सरकारले अर्को छुट दिने भएको छ। यो छुटअनुसार अब चिनियाँ नागरिकले टुर ग्रुपमा ६० देशको यात्रा गर्न सक्नेछन्। जब कि यसअघि २० देशमा मात्रै यात्रा गर्न अनुमति दिइएको थियो। –एजेन्सी