२०८१ बैशाख ६ , बिहिवार

कुवेतमा मृत्यु भएका नेपाली कामदारका परिवारलाई ७ करोड क्षतिपूर्ति

सुनाखरी न्युज / काठमाडौँ — कुवेतस्थित नेपाली दूतावासले १०१ जना नेपाली कामदारलाई ७ करोड २७ लाख रुपैयाँ क्षतिपूर्ति नेपाल पठाएको छ । कुवेतमा एकजना पीडितलाई क्षतिपूर्ति दिलाउन कम्तीमा दुई वर्षसम्म लाग्ने गर्छ । दूतावासका अनुसार कार्यस्थल र सडक दुर्घटनामा परी मृत्यु भएकाहरूले मात्रै बिमाबापत क्षतिपूर्ति दिने गरिएको छ । त्यसबाहेक मृतक कामदारको परिवारको संख्या हेरी पनि क्षतिपूर्ति रकम निर्धारण हुने दूतावासले जनाएको छ । सबैभन्दा बढी धनुषाका मृतक शम्भु शाहको परिवारले १ करोड ७ लाख ८३ हजार रुपैयाँ क्षतिपूर्ति पाएका छन् । यो रकम किस्ता(किस्तामा दूतावासमा जम्मा भएको थियो । सन् २०१५ सेप्टेम्बरमा काम गर्ने क्रममा उच्च स्थानबाट झरेर शाहको मृत्यु भएको थियो ।

 

खोटाङका पासाङ दोर्ची शेर्पाका परिवारले ९६ लाख ४२ हजार रुपैयाँ क्षतिपूर्ति पाएका छन् । १८ सेप्टेम्बर २०१८ मा बस दुर्घटनामा परी शेर्पाको मृत्यु भएको थियो । उनी कामबाट क्याम्पमा जानेक्रममा बस दुर्घटनामा परेको थिए । खोटाङका गंगाबहादुर गुर्वाछाने मगरले ८१ लाख ६८ हजार रुपैयाँ क्षतिपूर्ति पाएका छन् । गंगाबहादुर काम गर्नेक्रममा घाइते भएका थिए । अस्पतालले गंगाबहादुरको शरीर ९९ प्रतिशत काम नलाग्ने र दीर्घकालसम्म हेरविचार गर्नुपर्ने रिपोर्ट दिएपछि अदालतले ८१ लाख रुपैयाँ क्षतिपूर्ति तोकेको हो । गंगाबहादुर नेपाल आइसकेका छन् ।

त्यस्तै तनहुँका मृतक वीरबहादुर गुरुङका परिवारलाई ५९ लाख ८५ हजार रुपैयाँ क्षतिपूर्ति प्राप्त भएको छ । उनको पनि कार्यस्थलमा नै मृत्यु भएको थियो । कास्कीका मृतक हरिबहादुर क्षेत्रीका परिवारले ३३ लाख ७६ हजार रुपैयाँ क्षतिपूर्ति पाएका छन् । सुनसरीका मृतक पदमबहादुर मगरको परिवारलाई ३४ लाख ९२ हजार रुपैयाँ क्षतिपूर्ति दिइएको दूतावासले जनाएकफ छ । रामेछापका मृतक राजकुमारी सुनुवारको परिवारलाई २८ लाख ७० हजार रुपैयाँ दिइएको छ । दूतावासले क्षतिपूर्ति रकम परराष्ट्र मन्त्रालय हुँदै सम्बन्धित जिल्ला प्रशासन कार्यालय पठाएको छ । जिल्ला प्रशासन कार्यालयले क्षतिपूर्ति रकम हकवाला व्यक्तिलाई दिने दूतावासले जनाएको छ । कुवेतमा सुतेको सुत्यै अवस्थामा मृत्यु भएका कामदारलाई भने क्षतिपूर्ति रकम दिइँदैन।