२०८१ बैशाख ११ , मंगलबार

यी देश, जहाँ टिकटक प्रतिबन्धित छ

सुनाखरी न्युज/ काठमाडौं । युवापुस्तामाझ निकै लोकप्रिय शर्ट भिडियो एप टिकटक पछिल्लो समय प्रयोगकर्ताको डाटा सुरक्षा तथा गोपनीयताको विवादका कारण पश्चिमा विश्वमा शंकाको सिकार बनिरहेको छ ।

 

प्रयोगकर्ताका डाटामाथि चिनिया सरकारको पहुँच तथा नियन्त्रण हुनसक्ने र त्यसले आफ्नो मुलुकको राष्ट्रिय सुरक्षामै चुनौती खडा गर्ने भन्दै अमेरिका लगायतका पश्चिमा मुलुकहरुले टिकटकमाथि कडा रवैया अपनाउने गरेका छन् ।चिनियाँ कम्पनी ByteDance को स्वामित्वमा रहेको टिकटकमाथि भारतले लामो समयदेखि नै पूर्ण प्रतिबन्ध लगाएको छ भने अमेरिका हुँदै पछिल्लोपटक डेनमार्कले पनि टिकटक एपलाई आफ्ना सरकारी उपकरणमा बन्देज लगाएका छन् । यसका अलावा विश्वका अन्य मुलुकहरु पनि छन् जहाँ टिकटकमाथि प्रतिबन्धि लगाइएको वा कडा नियन्त्रणमा राखिएको छ । ती मुलुकको सूचि यस्तो छ :

भारत : पूर्णरुपमा प्रतिबन्धित
सन् २०२० को जुन महिनामा भारत सरकारले मुलुकको सुरक्षा तथा अखण्डतामै खतरा पैदा गर्नसक्ने भन्दै भारतभर टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । यो सँगै टिकटकले भारतमा आफ्नो कार्यसञ्चालन नै बन्द गरेको छ ।

 

अफगानिस्तान : पूर्ण रुपमा प्रतिबन्ध

सन् २०२२ मा अफगानिस्तानको तालिबान सरकारले टिकटकमाथि प्रतिबन्धको घोषणा गर्‍यो । युवापुस्तालाई दिग्भ्रमित हुनबाट बचाउनका लागि भन्दै तालिबानले अफगानिस्तानमा टिकटकमाथि बन्देजको घोषणा गरेको हो । यद्यपि तालिबानको घोषणा अझैसम्म पूर्ण कार्यान्वयनमा आइसकेको छैन ।

पाकिस्तान : बन्देज र फुकुवाको खेल

पाकिस्तानमा टिकटकमाथि प्रतिबन्ध लाग्ने र फुकुवा हुने खेल जारी छ । पछिल्लोपटक लागेको प्रतिबन्ध त्यहाँको सरकारले गत नोभेम्बर २०२२ मा फुकुवा गरेको थियो । पाकिस्तानमा टिकटक एपमा विभिन्न असान्दर्भिक र अश्लील सामग्रीहरु रहेको भन्दै बेलाबेलामा प्रतिबन्ध लगाउने र त्यस्ता सामग्री हटाएसँगै फुकुवा गर्ने गरिएको छ ।

 

ताइवान : प्रतिबन्ध

सन् २०२२ को डिसेम्बरमा ताइवानमा ट्वीटरमाथि बन्देज लगाइयो । सोसल मिडिया प्लाटर्फमसम्बन्धी शंकास्पद गैरकानूनी गतिविधि भएको आशंकामा त्यहाँ टिकटकमाथि अनुसन्धान गरिएको थियो ।

अमेरिका : सरकारी उपकरणमा प्रतिबन्धित

चिनिया मातृ कम्पनीको प्रडक्ट भएको र चीन सरकारले प्रयोगकर्ताका डाटाहरु नियन्त्रणमा लिनसक्ने भएकाले राष्ट्रिय सुरक्षामा खतरा पैदा हुने आशंका गर्दै अमेरिकाले संघीय सरकारद्वारा प्रदान गरिएका उपकरणहरुमा टिकटक चलाउन प्रतिबन्ध लगाएको छ । सरकारी उपकरणहरुमा रहेको टिकटक एपमार्फत् चीनले अमेरिकाको जासूसी गर्नसक्ने चिन्ता अमेरिकाको छ ।

 

युुरोपेली युनियन : सरकारी उपकरणमा बन्देज

युरोपेली युनियनको कार्यकारी अंगमा त्यहाँका आधिकारिक उपकरणहरुमा टिकटक प्रयोगमा प्रतिबन्ध लगाइएको छ । सुरक्षाको कारण देखाउँदै इयूले आफ्ना कर्मचारीहरुलाई फोनमा टिकटक इन्स्टल गर्नमा रोक लगाएको छ ।

क्यानडा : सरकारी उपकरणमा प्रतिबन्ध

क्यानडाको संघीय सरकारले पनि आफ्ना आधिकारिक डिभाइसहरुमा टिकटकमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ र त्यो नियम छिटै कार्यान्वयन हुने बताइएको छ । त्योसँगै क्यानेडाली सरकारका सरकारी फोन तथा कर्मचारीका सरकारी प्रयोजनका फोनहरुमा इन्स्टल गरिएको टिकटक एप पनि हटाउनु पर्नेछ ।

 

डेनमार्क : सरकारी उपकरणमा प्रतिबन्ध

साइबर सुरक्षाको कारण देखाउँदै डेनमार्कले पनि सरकारी फोनहरुमा टिकटकको प्रयोगमाथि प्रतिबन्ध लगाएको छ । साथै डेनमार्क सरकारले सरकारी कर्मचारहिरुलाई आफ्नो फोनबाट टिकटक हटाउन पनि आदेश दिएको छ । डेनमार्कसँगै अर्को नर्डिक मुलुक स्विडेनमा पनि सरकारी उपकरणमा टिकटक प्रतिबन्धित छ ।एजेन्सी