२०८१ बैशाख ८ , शनिवार

नेपाल टेलिकमका संरचनाहरुमा क्षति पुर्याइएको भेटिएमा सुरक्षाकर्मीलाई खबर गर्न आग्रह

सुनाखरी न्युज/ काठमाडौं । नेपाल टेलिकमले कम्पनीका संरचनाहरुमा क्षति पुर्याइएको भेटिएमा नजिकको सुरक्षा निकायमा खबर गर्न आग्रह गरेको छ।

 

कम्पनीले आज एक विज्ञप्ति जारी गर्दै यदि कुनै स्थानमा सेवा अवरुद्ध हुनेगरी अवाञ्छित कार्य गरिरहेको पाइएमा वा कम्पनीका संरचनाहरुमा क्षति पुर्याइएको भेटिएमा नजिकको कम्पनीको कार्यालय तथा नजिकको सुरक्षा निकायमा खबर गरेर सहयोग गरी सेवाको निरन्तरता सुनिश्चित गर्न आग्रह गरेको हो।

टेलिकमले देशका विभिन्न स्थानमा विभिन्न उपकरण र संरचना प्रयोग गरी सेवाग्राहीहरुलाई विविध प्रकारका दूरसञ्चार सेवाहरु उपलब्ध गराइरहेको विज्ञप्तिमा उल्लेख छ। ‘कम्पनीका सेवा अविच्छिन्न रुपमा उपलब्ध हुनका लागि ती उपकरण र संरचनाहरु चुस्तदुरुस्त अवस्थामा रहन आवश्यक हुन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘तर, पछिल्लो समयमा देशका विभिन्न स्थानमा रहेका विभिन्न उपकरण र संरचनामा क्षति पुर्याउने र कम्पनीको सेवा प्रवाहमा अवरोध ल्याउने क्रम बढेको पाइएको छ। यस्तो अवस्थाका कारण निरन्तर सेवा प्रवाहमा समस्या आउने गरेको छ। यस्ता अवाञ्छित गतिविधिका कारण अत्यावश्यक सेवाको रुपमा रहेको दूरसञ्चार सेवा प्रयोग गर्न पाउने सर्वसाधारणको नैसर्गिक अधिकारमा बाधा पुगिरहेको छ।’

 

‘ग्राहक सेवामा प्रतिबद्ध’ र ‘राष्ट्रको सञ्चार’ को रुपमा रहेको नेपाल टेलिकमको सेवालाई आगामी दिनमा अझै गुणस्तरीय र भरपर्दो बनाउने कार्यमा सबैको सहयोग प्राप्त हुने कम्पनीको अपेक्षा छ।